अभिनेता दयाहाङ राईले फिल्ममा विभिन्न समुदायको चरित्रमा काम गर्दै आइरहेका छन् । उनले थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका छन् । यसैले पनि अचेल उनलाई ‘सांस्कृतिक हिरो’ भन्न थालिएको छ । अब यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’मा उनी शेर्पा समुदायको चरित्रमा देखिँदैछन्, जो पेशाले झाँकी हुन्छन् ।
विभिन्न समुदायको कथामा काम गर्न पाइरहेकोमा दयाहाङ आफूलाई भाग्यमानी महसुस गर्छन् । मंगलबार मूलपानीको एक चौरमा ‘कार्साङ’को ‘छुपुमा छुपु’ गीत छायांकनको क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘विभिन्न ठाउँ, समुदाय र मानिसको कथामा काम गर्न पाउँदा मलाई एकदमै आनन्द आउँछ । मैले त्यो पाइराखेको पनि छु र आफूलाई भाग्यमानी महसुस पनि गर्छु ।’
‘कार्साङ’ शेर्पा समुदायको कथामा बनेको हो । तर, यो सबै शेर्पाहरुको कथा भने नहुन सक्ने दयाहाङको बुझाई छ । ‘यो सम्पूर्ण शेर्पाहरुकै कथा नहुन सक्छ । एउटा भूगोलको कथा चाहिँ हो,’ उनी अगाडि भन्छन्, ‘फिल्मको कथा निर्देशक यम शेर्पा जुन गाउँ (सिन्धुपाल्चोक)मा हुर्कियो, त्यहीँको जीवनशैलीसँग सम्बन्धित छ । यसमा सांस्कृतिक कुराहरु पनि आएको छ, जुन रमाइलो छ ।’
दयाहाङ ‘कार्साङ’लाई परिवारबीचको सम्बन्धको कथाको रुपमा अर्थ्याउँछन् । नेपाल भौगोलिक र सांस्कृतिक हिसाबले विविधता भएको देश भएकाले एउटै परिवारको कथा पनि एउटा भूगोलमा कसरी हेरिन्छ र त्यहाँ मानिसहरुले कसरी जीवन विताइरहेका छन् भन्ने चिज फिल्मले देखाउने उनको भनाई छ । फिल्मको यो पक्ष दर्शकलाई नयाँ लाग्छ भन्ने उनलाई विश्वास छ ।
‘कार्साङ’मा दयाहाङको जोडीको रुपमा अभिनेत्री सिर्जना निङलेखु छिन् । उनी दयाहाङको ठूलो प्रशंसक हुन् । पहिलो फिल्ममै आफ्नो ‘आइडल’सँग काम गर्न पाउँदा उनी खुसी देखिन्छिन् । भन्छिन्, ‘मलाई ‘कार्साङ’प्रति ठूलो अपेक्षा छ । पहिलो फिल्ममा नै दया दाईसँग काम गर्न पाएँ । पहिल्यैदेखि उहाँसँग काम गर्ने रहर थियो । त्यो रहर पूरा भएकोमा खुसी छु ।’
निर्देशक यम शेर्पा भने दयाहाङ भएका कारण फिल्म ‘ब्लकबस्टर’ हुनेमा निश्चिन्त देखिन्छन् । ‘फिल्ममा पहिलो रोजाइ नै दया दाई हुनुहुन्थ्यो । उहाँ भएपछि फिल्म ‘ब्लकबस्टर’ पनि भइहाल्छ । फिल्म ब्लकबस्टर हुन्छ भनेरै चाहिँ उहाँलाई लिएको होइन । कथाले नै उहाँलाई खोजेको हो,’ उनले स्पष्ट पारे । यो उनको पहिलो निर्देशकीय फिल्म हो । यसमा उनी स्वयंको लेखन पनि रहेको छ ।