वर्षेनि दशैं र तिहारपछि नेपाली नयाँ वर्षमा फिल्म रिलिजको ठूलो चाप देखिने गरेको छ । यो समयमा दर्शकहरु मनोरञ्जनका लागि हलमा ओइरिन्छ भन्ने विश्वासमा निर्माताहरुबीच नयाँ वर्षमा फिल्म रिलिज गर्न ठूलै प्रतिस्पर्धा चल्ने गरेको छ । यो सिलसिला यसपटक पनि रोकिएको छैन । आगामी नयाँ वर्षमा त्रिपक्षीय भिडन्त निश्चित भएको छ । त्यो पनि एउटै जनराका फिल्महरुबीच ।
२०८२ सालको नयाँ वर्षलाई लक्षित गर्दै आगामी चैत २९ गतेलाई दुई एक्सन फिल्म ‘कर्मा’ र ‘पिताम्बर’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा बिहीबार अभिनेता राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ले पनि प्रदर्शनका लागि यही मिति रोजेको छ । निर्देशक दीवाकर भट्टराईले चैत २९ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिए । यतिबेला छायांकन भइरहेको यो फिल्म पनि एक्सन प्रधान हो । अब एउटै मितिमा तीन एक्सन फिल्म भिड्नेछन् ।
निर्देशक भट्टराई स्वयंको स्क्रिप्ट लेखन रहेको ‘नरसिंहा’बाट अभिनेता हमालले ७ वर्षपछि कमब्याक गरेका हुन् । यसैले फिल्मप्रति दर्शकमा पनि उत्साह देखिएको छ । यो फिल्मलाई हमालको करिअरको ‘दोस्रो इनिङ’ मानिएको छ । यसमा उनीसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी लगायतको अभिनय रहेको छ ।
एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रुपमा वितरण गर्ने यो फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जन निर्माताको रुपमा छन् । ‘ह्रस्व दीर्घ’का निर्देशक चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्ममा राजेश हमाल दुई फरक लुक्समा प्रस्तुत हुने जनाइएको छ । प्राप्त जानकारी अनुसार, फिल्ममा उनी प्रहरी अधिकारीको भूमिकामा छन् ।