पछिल्लो समय अभिनेता दयाहाङ राईलाई ‘हिटको ग्यारेन्टी’ मान्ने गरिएको छ । उनका पछिल्ला फिल्मले बक्स अफिसमा हासिल गरेको सफलताले पनि यो तथ्य सत्य देखाउँछ । उनले अभिनय गरेका फिल्मको विदेशमा पनि राम्रो माग हुने गरेको छ । डिजिटल राइट्स पनि आकर्षक मूल्यमा बिक्री हुन्छ । यसैले त उनलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ ।
अबको चैतसम्म दयाहाङका पाँचवटा फिल्म रिलिजको तयारीमा छन् । जसमध्ये एक हो, ‘दुःखी आत्मा’ । यो फिल्म आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यतिबेला सम्पादनको टेबुलमा रहेको यो फिल्मको दयाहाङका कारण विदेशमा माग बढ्न थालेको छ । र, पहिलो अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार जापानका लागि बिक्री गरिएको छ ।
यूएनए इन्टरटेन्मेन्टले फिल्मको जापान वितरण अधिकार खरिद गरेको हो । बुधबार फिल्मका निर्माता हिमाल कडरिया र वितरक कम्पनीका प्रमुख उज्ज्वल गुरागाइँबीच प्रदर्शन अधिकार बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । वितरक गुरागाइँले जापानमा फिल्मको उच्च माग भएकाले खरिद गरेको बताए । उनका अनुसार नेपालकै मितिमा फिल्म जापानमा रिलिज हुनेछ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसहित आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरिरहेका छन् । केही दिनमा अन्य देशमा पनि फिल्म बिक्री हुने निर्माता कडरियाले जानकारी दिए ।