मिति : २०८२ वैशाख ४, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बन्यो ‘पुष्पा २’

फिल्मीखबर, काठमाडौं, 2024/12/27

Pushpa2TheRule

 

दक्षिण भारतको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ले भारतसँगै नेपाली बक्स अफिसमा पनि कीर्तिमान बनाएको छ । फिल्मले नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्मको रेकर्ड बनाएको निर्माण कम्पनी मिथ्री मुभी मेकर्सले दाबी गरेको छ । बिहीबार कम्पनीले एक पोस्टरमार्फत् फिल्मले नेपालमा २४ करोड ७५ लाख ग्रस (नेरु) कमाइ गरेको जनाएको छ । यो कमाइ जम्मा २० दिनको हो ।

‘अहिले ‘पुष्पा २’ नेपालमा सबैभन्दा धेरै कमाउने विदेशी फिल्म बनेको छ,’ व्यापार सार्वजनिक गर्दै कम्पनीले भनेको छ, ‘यो नेपाली बक्स अफिसमा सबैभन्दा ठूलो ब्लकबस्टरमध्ये एक हो र अहिलेसम्मको शीर्ष तीन कमाउनेहरूमध्ये एक बनेको छ ।’ ‘पुष्पा २’ नेपाल भित्रिएका विदेशी फिल्महरूमध्ये सबैभन्दा महंगो पनि हो । तीन वितरक कम्पनी ए-एट्, डीसीएन र आरआर फिल्म्सले यो फिल्मलाई झण्डै ७ करोड मूल्यमा नेपाल ल्याएका हुन् ।

यसअघि नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको कीर्तिमान सन् २०२२ मा आएको दक्षिण भारतीय फिल्म ‘केजीएफ २’को नाममा थियो, जसले १९ करोड २९ लाख ग्रस कमाएको थियो । अब यो दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानमा १७ करोडसहित बलिउड फिल्म ‘एनिमल’ छ भने १५ करोडसहित साउथ फिल्म ‘बाहुबली २’ चौथो स्थानमा पुगेको छ ।

नेपालमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान भने ‘पूर्णबहादुरको सारङ्गी’को नाममा छ, जसले झन्डै ५० करोड कमाएको छ । यसले व्यापारमा कीर्तिमान बनाएपछि दोस्रो स्थानमा झरेको ‘कबड्डी ४’ (२३ करोड ५० लाख) अब ‘पुष्पा २’का कारण नेपालमा सर्वाधिक कमाउने फिल्महरूमध्ये तेस्रो बनेको छ । ‘पुष्पा २’को व्यापारले नेपालमा साउथ फिल्मको बढ्दो प्रभावलाई दर्शाउँछ ।