बिहीबार साँझ युट्युबमा सार्वजनिक भएको फिल्म ‘ऊनको स्वीटर’को ‘मखमली’ गीत दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । युट्युब रिलिजको २४ घण्टामा ६ लाख बढी भ्यूज प्राप्त गरिसकेको गीतमा हजारौं टिकटक, रिल्स र सर्ट्स बनेका छन् । नेपालसहित ६ वटा देशमा गीत युट्युब ट्रेन्डिङमा समेत परेको छ । यतिबेला यो गीत म्यूजिकतर्फ नेपालको युट्युब ट्रेन्डिङको चौथो स्थानमा छ ।
त्यसैगरी, माल्टामा पहिलो, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहेको छ । गायक सुजन चापागाईंको जादुयी स्वरका कारण गीतप्रति दर्शक आकर्षित भएको देखिन्छ । उनी अहिलेका बहुचर्चित गायक हुन् । उनका हरेक गीत युवापुस्ताको मुखमा झुण्डिएको छ । अब ‘मखमली’ उनको अर्को हिट गीत बन्ने देखिन्छ ।
कौडा भाकामा आधारित गीतमा सुजनलाई गायनलाई सुनिता थेगिमले साथ दिएकी छन् । यसमा हर्क साउदको शब्द रचना रहेको छ भने गायक सुजन स्वयंको संगीत छ । गीतले फिल्मका प्रमुख अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेम व्यक्त गर्छ । दीप गुरुङको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राई पनि प्रस्तुत छन् ।
आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ऊनको स्वीटर’लाई नवीन चौहानले निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । फिल्ममा विपिन, मिरुना र विल्सनसहित सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायतको अभिनय छ । यसमा नवीन चौहानको लेखन, चिन्तन राजभण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।