यही पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कार्साङ’को पहिलो गीत सार्वजनिक गरिएको छ । गत आइतबार मात्र छायांकन भएको ‘सात भन्ज्याङ’ बोलको गीत शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । यसमा डीपी खनालको शब्द रचना तथा एसडी योगीको संगीत छ भने संगीतकार योगी र रेश्मा पुन मगरको पार्श्व गायन छ । गीतका एरेन्जर रिकेश गुरुङ हुन् ।
अभी लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखु नृत्य गर्दै प्रस्तुत छन् । लिम्बू, गुरुङ र शेर्पा जातिको पोशाकमा देखिएका उनीहरुको प्रेम र समर्पणको भावलाई गीतले व्यक्त गरेको छ । आदिवासी जनजाति समुदायको संस्कृति झल्किने सेटअपमा खिचिएको गीतले फिल्मको कथा पनि भन्न खोजेको देखिन्छ ।
यम शेर्पाको निर्देशन तथा लेखनमा तयार भएको फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले लगायतको अभिनय छ । सिर्जनाको यो डेब्यु फिल्म हो । उनी दयाहाङको श्रीमतीको भूमिकामा प्रस्तुत छिन् । जितुको जोडी भने दीयासँग बाँधिएको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सबीचको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहेका छन् भने सह–निर्माता गोविन्द बोहरा हुन् । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । एक महिनाअघि रिलिज भएको टिजरले फिल्मको राम्रो हाइप बनाएको छ ।