भेट्रान निर्देशक तुलसी घिमिरे फिल्म ‘पहाड’बाट सात वर्षपछि पुनरागमनको तयारीमा छन् । आगामी माघबाट छायांकन सुरु गर्न लागिएको फिल्ममा उनले कलाकारको बलियो ‘लाइनअप’ बनाएका छन् । मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउतको अभिनय रहने निश्चित भैसकेको फिल्ममा थप दुई कलाकार भित्रिएका छन् । उनीहरु हुन्, अरुण क्षेत्री र पञ्चमी घिमिरे ।
अरुणले ‘महापुरुष’बाट डेब्यु गरेका थिए । त्यसपछि उनले ‘प्रेमा’ र ‘ज्याकी : आइ एम ट्वान्टिवान’ फिल्ममा काम गरिसकेका छन् । पञ्चमी भने निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले ‘पहाड’बाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । यसअघि उनले पिताको निर्देशनमा बनेको फिल्म ‘दर्पण छायाँ २’मा सहायक निर्देशकको रुपमा काम गरेकी थिइन् ।
भारतको टेलिसिरियल निर्माण कम्पनी बालाजी टेलिफिल्म्सको एसोसिएट क्रियटिभ हेडको रुपमा समेत काम गरिसकेकी पञ्चमीले ७ वर्षअघिको एक अन्तर्वार्तामा आफूलाई अभिनयभन्दा फिल्म मेकिङप्रति रुचि रहेको जनाएकी थिइन् । भविष्यमा बुबाले लेखेको स्क्रिप्टमा फिल्म बनाउने इच्छा रहेको उनको भनाई थियो । तर, अब उनले अभिनयमा करिअर बनाउन खोजेको देखिन्छ ।
निर्देशक घिमिरेले कान्छी छोरीलाई अभिनेत्री बनाउँदै गर्दा जेठी छोरी भावनालाई भने ‘पहाड’को प्रोडक्सन डिजाइनरको जिम्मेवारी दिएका छन् । र, उनकी श्रीमती भारती घिमिरेले फिल्मको एउटा गीतमा स्वर दिएकी छन् । यसरी एउटै फिल्ममा उनको सिंगो परिवार नै जोडिएको छ । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बन्ने जनाइएको छ ।