मिति : २०८१ पौष १८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमाघर एपमा फिल्मको बाढी, ‘छक्का पञ्जा ४’देखि ‘झिँगेदाउ’सम्म रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/12/30

cinema ghar

 

नेपालको अग्रणी ओटीटी प्लेटफर्मको रुपमा आफूलाई उभ्याएको सिनेमाघर एपले आक्रामक रुपमा फिल्म रिलिज गर्न थालेको छ । अघिल्लो वर्षसम्म महिनामा मुस्किलले एउटा फिल्म रिलिज हुँदै आइरहेकोमा यतिबेला एपमा फिल्मको बाढी नै देखिएको छ । दशैंयता मात्र आधा दर्जनभन्दा बढी फिल्म रिलिज भइसकेका छन् भने केही फिल्म रिलिजका लागि तयारी अवस्थामा रहेका छन् ।

क्रिसमसको अवसर पारेर एपमा झरना थापा निर्देशित फिल्म ‘एक भगवत् एक गीता’ रिलिज गरिएको थियो । त्यसअघि ‘छक्का पञ्जा ४’, ‘झिँगेदाउ’, ‘चिसो मान्छे’, ‘घनचक्कर’ र ‘माइकल अधिकारी’ एकसाथ रिलिज गरियो । यस वर्ष ‘डिग्री माइला’, ‘पशुपति प्रसाद २’, ‘चपली हाइट ३’, ‘प्रेमगीत ३’, ‘घरज्वाइँ’ जस्ता फिल्म पनि एपमा रिलिज भइसकेका छन् ।

अब अंग्रेजी नयाँ वर्ष २०२५ मा दुईवटा फिल्म ‘उपहार’ र ‘हात्तीछाप’ रिलिज गरिने एपका प्रमुख कार्यकारी अधिकृत सागर खरेलले जानकारी दिए । त्यसपछि ‘बोक्सीको घर’ र ‘हिजो आजका कुरा’ रिलिज हुने उनले बताए । पछिल्लो समय एपमा फिल्म हेर्ने दर्शक उल्लेख्य रुपमा वृद्धि भएको र मेकरहरुबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आइरहेको उनको भनाई छ ।

दुई सय रुपैयाँ शुल्क तिरेर फिल्म हेर्न मिल्ने व्यवस्था मिलाइएको एपमा ‘पानीफोटो’, ‘प्रेमगञ्ज’, ‘जाइरा’, ‘मंगलम’, ‘दोख’, ‘ब्लाइन्ड रक्स’, ‘रातो टीका निधारमा’, ‘कोहलपुर एक्सप्रेस’, ‘डमरुको डण्डीवियो’ जस्ता फिल्महरु पनि उपलब्ध छन् । युट्युबमा आउनुअघि ब्लकबस्टर फिल्महरु ‘कबड्डी ४’, ‘जारी’ र ‘महापुरुष’ पनि एपमा रिलिज गरिएको थियो ।

नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डसँगै गुगल प्लेबाट भुक्तानी गरेर एपमा फिल्म हेर्न सकिन्छ । एन्ड्रोइड र आइओएस मोबाइलसहित सामसुङ, एलजी, गुगल, अमेजनलगायतका टेलिभिजनहरुमा पनि एप डाउनलोड गर्न सकिने जनाइएको छ । एपमा व्यवस्था रहेको सिनेक्वाइन अर्थात् विज्ञापनहरु हेरेर निःशुल्क रुपमा समेत फिल्म हेर्न सकिन्छ ।