यही पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा छन् । ३ हप्ताअघि सार्वजनिक भएको टिजरमा उनलाई ढ्याङ्ग्रो ठटाउँदै आगोको भुङ्ग्रोमाथि नाचिरहेको देख्न सकिन्छ । धेरैले यो प्रविधिको प्रयोग गरिएको ‘छल दृश्य’ हुनसक्ने आशंका गरेका थिए । तर, दयाहाङले वास्तवमै आफू आगोको भुङ्ग्रोमाथि नाचेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा उनले आगोमाथि नाच्दाको क्षण स्मरण गर्दै भने, ‘आगोमा नाच्नुपर्छ भन्ने कुरा स्क्रिप्टमै थियो । मैले चाहिँ चिटिङ गर्ने होला भनेर मतलब गरेको थिइनँ । जब सिन खिच्ने बेला आयो तब मसँग ४/५ जना रियल झाँक्री हुनुहुन्थ्यो । उहाँहरुले एउटा मन्त्र कन्ठ पार्न भन्नुभयो । मैले त्यो मानिनँ । त्यसपछि उहाँहरुले मन्त्र सुनाउनुभयो र म आगोमा छिरेँ । मलाई केही पनि भएन । कपासमाथि उडेको जस्तो लाग्यो ।’
आगोमा नाच्दा क्यारेक्टर नै विर्सिएर आफू रमाएको दयाहाङ स्मरण गर्छन् । ‘प्रत्येक चोटी आगोमा जाँदा म क्यारेक्टर नै विर्सिएर हाँस्दो रहेछु । म हाँसेका कारणले ३/४ पटकसम्म टेक नै लिनुपरेको थियो,’ उनी सम्झन्छन् । आगोको भुङ्ग्रोमाथि नाच्दा केही नभएपछि उनलाई झाँक्री विद्यामा शक्ति छ भन्ने महसुस भएको रहेछ । यसलाई उनी एउटा अजिब अनुभवको रुपमा लिन्छन् ।
स्क्रिप्ट पढ्ने बेलामा भने झाँकीको चरित्र भएकाले दयाहाङ डराएका रहेछन् । ‘झाँक्रीको क्यारेक्टर भन्ने वितिक्कै डर लागेको थियो । किनकि, झाँक्रीलाई शक्तिको रुपमा लिइन्छ । यसैले यो क्यारेक्टर गर्दा कसरी कन्भिन्स गराउन सकिन्छ भन्ने चुनौती महसुस भएको थियो । रोचक कुरा चाहिँ के थियो भने हामीले जहाँ छायांकन गर्यौं, त्यो पूरै झाँकीको गाउँ (यार्सा) हो । उहाँहरुसँग जुन शक्ति छ, त्यो मैले पनि अनुभव गर्न पाएँ,’ उनले भने ।
झाँक्रीको चरित्रका लागि आफूले शारीरिकभन्दा पनि मानसिक तयारी गर्नुपरेको दयाहाङको भनाइ छ । ‘पेशा वा ज्ञानले त्यो पात्र झाँक्री हो । तर, व्यक्तिको हिसाबले भने ऊ अरु आम मानिसजस्तै हो । परिवार छ । जिम्मेवारी छ,’ उनी अगाडि भन्छन्, ‘एक हिसाबले मानसिक रुपमा विक्षिप्त अवस्थासम्म पुग्नुपर्ने चरित्र हो । यसका लागि चाहिँ तयारी गर्नुपर्यो । आर्थिक र नैतिक हैसियत । श्रीमती र साथीसँगको सम्बन्धको हिसाबले त्यो त्यति जटिल चरित्र चाहिँ होइन ।’
‘कार्साङ’मा दयाहाङको साथीको भूमिकामा रहेका कलाकार जितु नेपाल आफूलाई क्यारेक्टरले लोभ्याएको बताउँछन् । भन्छन्, ‘मलाई क्यारेक्टरले लोभ्याएकै हो । मलाई देखिरहेको र गरिरहेको भन्दा फरक क्यारेक्टर गर्न मन लाग्छ । यसमा मैले निभाएको माइला जस्ता पात्र पहिला गाउँमा धेरै थिए । म पनि त्यसरी नै हुर्किएको हुँ । यसैले त्यो पात्र बाँच्न सजिलो नै भयो ।’
फिल्मको पोस्टर सार्वजनिक भएपछि धेरैले जितु शीर्ष भूमिकामा हुनसक्ने अनुमान गरेका थिए । तर, टिजरले दयाहाङ नै केन्द्रीय पात्र रहेको प्रष्ट पार्छ । जितु सहायक भूमिकामा छन् । तर, उनी आफूलाई सहायक र केन्द्रीय भूमिकाले फरक नपार्ने बताउँछन् । भन्छन्, ‘कथाअनुसार पात्र तयार हुने हो । र, पात्रमा आफूलाई ढाल्न सहायक र केन्द्रीय भन्ने कुरा महत्त्वपूर्ण रहँदैन । ‘कार्साङ’ मैले रोल मन परेर गरेको हुँ ।’
‘कार्साङ’लाई यम शेर्पाले निर्देशन गरेका हुन् । र, यसमा उनले आफ्नै समुदाय अर्थात् शेर्पा जातिको कथा उठाएका छन् । पहिला आफ्नै समुदायको कथा भन्नुपर्छ भन्ने सोचले फिल्म बनाएको उनको भनाइ छ । ‘म यो समुदायको पहिलो निर्देशक हुँ । मैले नै नभने त्यो कथा कसैले भन्दैन भन्ने लाग्यो । यसैले पनि आफ्नै समुदायको कथा उठाएको हुँ,’ उनले भने ।
निर्देशक शेर्पा स्वयंको लेखन रहेको फिल्ममा सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह-निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन् ।