अहिलेका सफल अभिनेता प्रदीप खड्काको फिल्म यात्राले १० वर्ष पूरा गरेको छ । सन् २०१५ मा रिलिज भएको ‘स्केप’बाट उनी अभिनय दुनियाँमा आएका थिए । यो उनकै निर्माणमा बनेको थियो । उनलाई अभिनेताको रुपमा पहिचान भने फिल्म ‘प्रेमगीत’ले दिलायो । यसपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । समग्रमा उनको एक दशकको यात्रालाई सन्तोषजनक मान्न सकिन्छ ।
तर, प्रदीप आफ्नो १० वर्षे अभिनय यात्रालाई चुनौतीपूर्ण र उतारचढावको रुपमा लिन्छन् । मंगलबार सामाजिक सञ्जालमा तीन मिनेट लामो एक भिडियो सेअर गर्दै उनले फिल्म क्षेत्रसँग कुनै नाता र पृष्ठभूमि नै नभएको ‘आउटसाइडर’को रुपमा आफ्नो फिल्म यात्रा धेरै चुनौतीपूर्ण रहेको जनाएका छन् । यद्यपि, फिल्मको यात्रा विस्तारै सिक्दै गएको उनको भनाइ छ ।
‘प्रि-प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सन जस्ता कुराहरूलाई मैले सजिलै लिँदै गएँ, एक कामको रूपमा । तर, योभन्दा चुनौतीपूर्ण कुरा थियो- फिल्म बन्छ कि बन्दैन, यसको फिल्म चल्छ कि चल्दैन आदि,’ उनी भन्छन्, ‘यतिबेलासम्म मैले बुझेको भनेको फिल्म बन्छ कि बन्दैन त्यो परिस्थिति र मेकरमा भर पर्ला, तर फिल्म चल्छ वा चल्दैन त्यो निर्णय केवल दर्शकहरूले मात्र गर्न सक्नुहुन्छ ।’
प्रदीप जीवन र अभिनय यात्रालाई मुटुको चालको रुपमा व्याख्या गर्छन् । उनी भन्छन्, ‘जीवनमा उतारचढाव, चुनौतीहरू भएनन् भने सायद त्यो मुटुको चालको ग्राफ जस्तो हुन्छ होला, जबसम्म उतारचढाव छ तबसम्म जीवित, जब त्यो ग्राफ सीधा हुन्छ तब मृत शरीर । त्यसैले म गर्व गर्छु, मेरो जीवनमा ती उतारचढावहरू थिए । अभिनय यात्रामा कहिले माथी त कहिले तल हुँदै अगाडि बढ्न पाएँ । र, हमेशा तपाईंहरूबाट साथ-सहयोग पाएँ ।’
उनले जादुयी यात्रा र संसारको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गर्दै अभिनय यात्रामा ‘रोलर, कोस्टर, राइड’ अनुभव गर्न पाएको जनाएका छन् । उनले आफ्नो एक्टरको यात्राभन्दा फिल्म ‘एक्टर’मा आफ्नो यात्रा अझ रोचक लाग्न सक्ने पनि बताएका छन् । आम मानिसबाट सुपरस्टार बन्दाको उतारचढावको अनुभव फिल्मले दिने उनको भनाइ छ । यो फिल्म माघ १६ गतेबाट प्रदर्शन हुँदैछ ।