कलाकार दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले आगामी एक फिल्ममा सहकार्य गर्ने भएका छन् । दीपकराजले सरोजसँग हात मिलाएको एक तस्वीर बुधबार सामाजिक सञ्जालमा सेअर गर्दै फिल्ममा सहकार्य गर्न लागेको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘नयाँ वर्ष, नयाँ कामको सुरूवात ।’ तस्वीरमा दीपकराज र सरोजसँगै कलाकार निर्मल शर्मालाई पनि देख्न सकिन्छ ।
केही दिनअघि मात्र निर्माता न्यौपानेले आफ्नो नयाँ फिल्मको रुपमा ‘फनफनी घुमेर’ घोषणा गरेका थिए । तर, यो फिल्मका लागि दीपकराजसँग सहकार्य नभएको उनले स्पष्ट पारेका छन् । नयाँ शीर्षकमा फिल्म बन्ने उनको भनाइ छ । उनले भने, ‘हामी दुवैलाई कन्सेप्ट एकदमै मनपर्यो । अहिले स्क्रिप्टमा काम भइरहेको छ । स्क्रिप्ट दीपकजीले नै लेखिरहनुभएको छ ।’
फिल्ममा दीपकराज स्वयं मुख्य भूमिकामा देखिनेछन् भने निर्मल शर्माको पनि अभिनय रहनेछ । बाँकी कलाकार र निर्देशक तय भइसकेका छैनन् । निर्माता न्यौपानेले एक निर्देशकसँग भने कुराकानी भइरहेको जानकारी दिए । उनले आगामी वर्षको तिहारमा फिल्म रिलिज हुने पनि घोषणा गरेका छन् । फिल्मको छायांकन आगामी बैशाखबाट सुरु गर्ने तयारी गरिएको छ ।
फिल्ममा सरोजको एकल लगानी रहनेछ । उनको कम्पनी अनन्या फिल्म्सबाट फिल्म निर्माण हुनेछ । दीपकराज भने मुनाफाको हिस्सेदारीमा रहने बुझिएको छ । यसअघि पनि उनको समूहले ५० प्रतिशत मुनाफा लिने गरी ‘छ माया छपक्कै’मा काम गरेको थियो । सरोजको फिल्ममा ‘छक्का पञ्जा’ समूहका अन्य कलाकारहरू जोडिन्छन् कि जोडिँदैनन् ? त्यो चासोको विषय बनेको छ ।