‘ह्वाइट’ सन (सेतो सूर्य) र ‘हाइवे’ फिल्मबाट अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका निर्देशक दीपक रौनियारको नयाँ फिल्म ‘पूजा, सर : राजागञ्ज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा स्क्रिनिङ भइसकेको छ । गत भदौमा विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदा फिल्मलाई १० मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ मिलेको थियो ।
अब घरेलु बजारमा फिल्म रिलिज गर्न लागेका निर्देशक रौनियारले बिहीबार एक पोस्टर सार्वजनिक गरेका छन्, जसमा चार प्रमुख कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक चित्रित छन् । दयाहाङ एसपीको पोशाकमा देखिएका छन् । पोस्टरमा चित्रित चार पात्र कुनै घटनाको अनुसन्धान गरिरहेको प्रहरीको टोली हुनसक्ने देखिन्छ ।
भारतका प्रसिद्ध निर्देशक अनुराग कश्यप कार्यकारी निर्माताको रुपमा जोडिएको ‘राजागञ्ज’मा ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पुष्पा यादव, धनश्याम मिश्र, निरज श्रेष्ठ लगायतको पनि अभिनय छ । यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
फिल्मको निर्मातामा निर्देशक रौनियारसहित आशा मगराती, ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ र अलन आर. मिलिगन रहेका छन् । यसको स्क्रिनप्ले निर्देशक रौनियारले आशा मगरती र डेविड बार्करसँग मिलेर तयार पारेका हुन् । सांसदको छोरासहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्मले पेश गर्ने जनाइएको छ ।