मिति : २०८१ पौष २१, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘कार्साङ’ ट्रेलरबारे दर्शक भन्छन्, ‘वर्षकै सर्वोत्कृष्ट’

फिल्मीखबर, काठमाडौं, 2025/01/03

Dayahang Rai

 

अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज हुन लागेको नयाँ फिल्म ‘कार्साङ’को ट्रेलर बुधबार युट्युबमा सार्वजनिक भैसकेको छ । एक महिनाअघि आएको टिजर र आइतबार सार्वजनिक ‘सात भन्ज्याङ’ बोलको गीतले उत्कृष्ट प्रतिक्रिया पाइरहँदा ट्रेलरले पनि दर्शकलाई आकर्षित गरेको छ । युट्युबमा ट्रेलरलाई लोभलाग्दो भ्यूज मिलेको छ भने प्रतिक्रिया उस्तै उत्साहजनक प्राप्त छ ।

७ लाख ३० हजार बढी भ्यूजसहित ट्रेलर यतिबेला युट्युबको मुभिज ट्रेन्डिङतर्फ दोस्रो स्थानमा छ । रिलिजको २४ घण्टामै ट्रेलर यो स्थानमा उक्लिएको थियो । यसले फिल्मप्रति दर्शक उत्साहित रहेको दर्शाउँछ । ट्रेलरको समग्र प्रतिक्रिया पनि सकारात्मक छ । कतिले यस वर्षकै सर्वोत्कृष्ट ट्रेलर दाबी गरेका छन् भने कतिले अर्गानिक फिल्म भन्दै प्रशंसा गरेका छन् ।

ट्रेलरमा प्रतिक्रिया हेर्दा दयाहाङभन्दा जितु नेपालको तारिफ दर्शकले बढी गरेको देखिन्छ । उनको अभिनय अहिलेसम्मकै उत्कृष्ट देखिएको प्रतिक्रिया धेरै प्राप्त छ । उनको तारिफमा एक प्रशंसक लेख्छन्, ‘जितु नेपालको अभिनय, अहिलेसम्मकै फरक चरित्र एकदमै सुहाएको छ । पुरानो कलाकार बल्ल सुहाउँदो रोलमा देखियो ।’ दीया मास्केसँग उनको केमेस्ट्री पनि निकै रुचाइएको छ ।

शेर्पा समुदायको संस्कृति, समाजमा व्याप्त अन्धविश्वास र आर्थिक समस्यासँग जुधिरहेको एउटा झाँक्री परिवारको कथालाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ । फिल्ममा दयाहाङ शेर्पा समुदायको झाँक्रीको भूमिकामा छन् । उनले पहिलो पटक यसप्रकारको भूमिका निभाएका हुन् । यसैले पनि फिल्मप्रति दर्शकको चासो निकै बढेको छ ।

यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । यसमा सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पालगायतको पनि अभिनय रहेकोछ । यही पुष २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।