मिति : २०८१ पौष २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमलु’ : जसले बजेटभन्दा ४५ गुणा बढी कमायो

एजेन्सी, काठमाडौं, 2025/01/04

premalu-

 

दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रूल’ले सन् २०२४ मा सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्मको कीर्तिमानी आफ्नो नाममा बनाउन सफल भयो । यसले हिन्दी भर्सनमा ८ सय करोड नेट र विश्वव्यापी १८ सय करोड कमाइसकेको छ । गत वर्ष ‘स्त्री २’ र ‘कल्की’ले पनि ठूलो कमाइ गरे । तर, २०२४ मा सबैभन्दा धेरै नाफा कमाउने फिल्मको पहिलो स्थानमा भने यी कुनै पनि छैनन् ।

इन्डिया टाइम्सका अनुसार मलयालम भाषाको रोमान्टिक-कमेडी फिल्म ‘प्रेमलु’ गत वर्ष सबैभन्दा बढी मुनाफा कमाउने भारतीय फिल्म बनेको छ । फेब्रुअरी ९ मा रिलिज भएको यो फिल्म ३ करोड भारुमा बनेको थियो । यसमा ठूला स्टार पनि थिएनन् । न त हिन्दी भाषामा रिलिज भएको थियो । तर, फिल्मले केरला राज्य र ओभरसिजमा असाधारण कमाइ गर्‍यो ।

‘प्रेमलु’ले विश्वभरबाट १३६ करोड कमाइ गरेको इन्डिया टाइम्सले जनाएको छ । भारतमा मात्र मलयालम, तमिल र तेलुगु भाषामा ९३.६५ करोड र ओभरसिजमा ४२.२५ करोड कमाएको थियो । यो फिल्मको बजेटभन्दा ४५ गुणा बढी कमाइ हो । फिल्मले केरला राज्यमा मात्र ६२ करोड कमाएको थियो । यसले केरलामा सर्वाधिक कमाउने फिल्मको कीर्तिमानी नै बनाएको छ ।

गिरीश ए. डीको लेखन तथा निर्देशनमा तयार भएको ‘प्रेमलु’मा संगीत प्रताप, अखिला भार्गवन, मीनाक्षी रवीन्द्रन, म्याथ्यू थमस, श्याम मोहन, अल्थफ सलीमलगायतको अभिनय छ । यो फिल्म अहिले तमिल र हिन्दी भाषामा ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा हेर्न सकिन्छ । ‘प्रेमलु’को असाधारण सफलतापछि यसको सिक्वेल पनि घोषणा भइसकेको छ, जसलाई २०२५ मा रिलिज गरिँदैछ ।