ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली फिल्म क्षेत्रकै लागि कोशेढुंगा सावित भयो । यसले जुन रुपमा व्यापार गरेको छ, त्यो नेपाली फिल्मका लागि अभूतपूर्व सफलता हो । तर, यो फिल्मले ठूलो व्यावसायिक सफलता हासिल गरे पनि यसका निर्देशक सरोज पौडेल भने खासै ‘लाइमलाइट’मा आउन सकेनन् । अभिनेता विजय बरालको अभिनयको चर्चाले उनी पूरै ओझेलमा परे ।
यद्यपि, ब्लकबस्टर फिल्मको निर्देशक भएकाले उनलाई अब कामको भने अभाव हुने छैन । बुझिएअनुसार अहिले उनलाई राम्रो पारिश्रमिकसहित निर्देशनको प्रस्ताव बोक्लै पुगिरहेको छ । यसैबीच, अब उनले ‘कोशेढुंगा’ शीर्षकमा नयाँ फिल्म बनाउने भएका छन् । आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरियो । पोस्टरले फिल्मको कथावस्तुबारे संकेत दिन्छ ।
घुरमैलो बिहानी र एक्लो बुकुरो घरलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा एक महिलालाई डाँडातिर हेर्दै गरेको अवस्था देख्न सकिन्छ । उनको अगाडि अग्लो रुख र आकाशमा चरा उडेका छन् । यसले कठिन जीवनबाट उम्किएर स्वतन्त्र जीवन बाँच्न चाहेको भाव बुझाउँछ । अभाव, सपना र संघर्षको कथा फिल्मले भन्ने पोस्टरले संकेत गर्छ ।
अर्को वर्ष अर्थात् २०८२ सालमा रिलिज लक्ष्य राखिएको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्मातामा छन् । बाबु श्रेष्ठको डीओपी रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । नरदेवी फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । ‘कोशेढुंगा’मा कलाकारहरु भने निश्चित भैसकेका छैनन् ।