निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ फिल्म ‘बलिदान’लाई ठूलो क्यानभासमा तयार पारिरहेका छन् । सेट निर्माणदेखि प्रप्ससम्म करोडौं खर्च गरिएको छ । फिल्मको क्लाइमेक्स खिच्न ४२ फिट अग्लो हिन्दू देवी कालीको मूर्ति समेत तयार पारिएको छ । फिल्मको कथाअनुरूप विनाशकी देवी कालीमाताको चण्डी स्वरूपलाई दर्शाउने मूर्ति भारतस्थित कलकत्ताबाट ल्याइएको हो ।
निर्देशक सेनले नेपालमा उपयुक्त मूर्ति नभेटेपछि कलकत्ता गएर त्यहाँका कालिगडहरूसँग मिलेर मूर्ति तयार गरिएको बताए । ‘फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । नेपालमा हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर मूर्ति निर्माण गर्यौँ,’ सेनले भने ।
क्लाइमेक्स खिच्नका लागि मूर्तिलाई मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा राखिएको छ । मूर्तिले यो क्षेत्रलाई नै नयाँ पहिचान दिएको निर्देशक सेनको भनाइ छ । उनका अनुसार अहिले उक्त मैदानलाई ‘काली चौर’ भन्न थालिएको छ । यस क्षेत्रमा निर्माण भएका मञ्च र दुई सय बढी स्टलहरुले स्थानीयलाई रोजगारी दिनुका साथै मिनी बजार नै सञ्चालनमा आएको उनले बताए ।
निर्देशक सन्तोष सेनका अनुसार ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । यो साताभित्र फिल्म प्याकअप हुने उनले जानकारी दिए । छायांकन सकिएपछि टिजरसहित फिल्मको रिलिज मिति घोषणा गरिने उनले बताए । फिल्मलाई कुन मितिमा हलमा रिलिज गर्ने भन्ने निधो भइसकेको उनको भनाइ छ ।
फिल्ममा भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर एक्सन सिनको डिजाइन गरेको छ । ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ । यसमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेनलगायतको अभिनय छ ।