मिति : २०८१ पौष २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वसन्त’ले मबाट धेरै कुरा खोसेको छ : प्रकाश सपूत

फिल्मीखबर, काठमाडौं, 2025/01/05

Prakash Saput

 

गायनबाट फिल्म अभिनयमा आएका धेरैको करिअर सुखद् बन्न सकेन । तर, प्रकाश सपूत अपवाद बनेका छन् । गत वर्ष आएको उनको डेब्यु फिल्म ‘परदेशी २’ सुपरहिट बन्यो । हाल प्रदर्शनरत उनी अभिनीत दोस्रो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले त व्यापारमा कीर्तिमानी नै बनाएको छ । अब धेरैको प्रतीक्षा उनी निर्देशित पहिलो फिल्म ‘वसन्त’लाई लिएर छ, जुन चैत २२ गते रिलिज हुँदैछ ।

यो फिल्मको निर्माणका कारण उनले एक वर्षदेखि नयाँ गीत निकालेका छैनन् । देश तथा विदेशका कार्यक्रममा समेत सहभागी भएका छैनन् । यसैले उनलाई लाग्छ, आफूबाट ‘वसन्त’ले धेरै कुरा खोसेको छ । आइतबार साँझ उनले फेसबुकमा फिल्मको एउटा पोस्टर सेअर गर्दै यो फिल्मले संगीतबाट कमाएको साथीभाई, स्टेजदेखि भोकनिन्द्रा सबै खोसेको उल्लेख गरेका छन् ।

‘सारङ्गी’को प्रदर्शनमा समय दिन नपाएको प्रसंग समेत निकाल्दै उनले स्टाटसमा लेखेका छन्, ‘सबैभन्दा महत्वपूर्ण योजना विपरित बीचमा एउटा चलचित्रको प्रदर्शनमा मैले समय दिन नपाएपछि केही शुभेच्छुकहरुको नजरबाट मेरो इमान खोसेको छ । यसबाहेक भोक खोसेको छ । निद्रा खोसेको छ र मभित्रको एक शान्त मानिस खोसेको छ । तर, एकबारको जुनीमा आफ्नै सपनाको यो हद छोएकोमा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘वसन्त’मार्फत नै समयले खोसिएका सबै फेरि फिर्ता दिनेछ ।’

प्रकाशले ‘वसन्त’मा आफूभित्रका सबै रंगहरु पोखेको र आफ्नो प्रतिभाको दायरा यति नै रहेको जनाएका छन् । उनी लेख्छन्, ‘यदि ‘वसन्त’ तपाईंलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ । यसो भनौ, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति ।’

प्रकाशले स्टाटसमा पोखेका भावनाले ‘वसन्त’प्रति उनको अपेक्षा र आत्मविश्वास बोल्छ । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रकाशले फेसबुकमा सेअर गरेको पोस्टरमा उनी स्वयं बत्तीको उज्यालोमुनि किताब पल्टाएर खुसी भावमा देखिएका छन् । यसले फिल्ममा उनको पात्रलाई अध्ययनप्रति रुचि रहेको दर्शाउँछ ।