मिति : २०८१ पौष २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सांस्कृतिक नायक’को ट्यागबारे के भन्छन् दयाहाङ ?

फिल्मीखबर, काठमाडौं, 2025/01/06

किन दयाहाङ 'गाउँ आएको बाटो'लाई करिअरको उत्कृष्ट फिल्म मान्छन् ?

 

पछिल्लो समय आदिवासी जनजाति समुदायको कथामा बनिरहेका फिल्ममा सबैभन्दा बढी कसैको अनुहार देखिएको छ भने ती दयाहाङ राई हुन् । समुदाय केन्द्रित फिल्ममा उनी निर्विकल्प झैं बनेका छन् । र, उनका कारण फिल्म पनि राम्रै चलिरहेका छन् । लिम्बू, राई, शेर्पा, मगर जस्ता समुदायको कथामा काम गरिसकेका उनलाई अचेल ‘सांस्कृतिक नायक’ समेत भन्न थालिएको छ ।

तर, दयाहाङ कुनै उपाधिभन्दा पनि विभिन्न समुदायको कथामा काम गर्न पाउनुलाई स्व-अध्ययन मान्छन् । भन्छन्, ‘नेपाल भनेको विविधताले भरिएको देश हो । नेपाललाई भौगोलिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने रैछ भन्ने महसुस हुन थालेपछि मेरो काम वा स्व-अध्ययनका लागि विभिन्न समुदायको कथामा काम गरिरहेको छु र पाइरहेको छु । मजा पनि आउने रैछ ।’

विभिन्न समुदायको कथामा काम गरेपछि दयाहाङले बुझेको एउटा कुरा हो- भूगोलअनुसार हरेक समुदायको फरक संस्कृति छ । ‘हरेक समुदायको भौगोलिक र रहनसहनको हिसाबले संस्कृति वा मूल्य-मान्यता फरक हुने रहेछ । पहिला मैले यस्तो हुन्छ रे भन्ने मात्र सुनेको हुँ । अहिले आफैंले अनुभव गर्न पाउँदैछु । मलाई कुनै उपाधि चाहिएन तर व्यक्तिगत रुपमा खुसी छु,’ उनी भन्छन् ।

कुनै समय आदिवासी जनजाति समुदायको कथामा बनेका फिल्मलाई मूलधारको मानिँदैन थियो । त्यसलाई भाषाभाषीको फिल्मको संज्ञा दिइन्थ्यो । तर, अहिले यही समुदायको कथा बक्स अफिसमा बढी विकिरहेको छ । यसैले केही वर्षयता विभिन्न समुदायको कथामा फिल्म बन्ने क्रम बढेको छ । यो अवस्था आउनुको पछाडि दयाहाङ देशमा व्यवस्था परिवर्तन हुनुलाई मान्छन् ।

‘व्यवस्था परिवर्तन भएपछि मानिसमा आएको चेतनाले हाम्रो कथा पनि भन्दा हुने रहेछ भन्ने महसुस धेरैमा भयो । व्यवस्था परिवर्तन नभइदिएको भए यसरी समुदायको कथा भनिँदैन थियो होला,’ उनी भन्छन्, ‘व्यवस्था परिवर्तन भएपछि सबैले आफ्नो कथा वा मूल्य-मान्यता अगाडि सार्दै आए । जसले गर्दा ‘कबड्डी’, ‘जारी’ हुँदै ‘कार्साङ’सम्म आइपुगेको छ ।’

‘कबड्डी’, ‘जारी’ जस्ता फिल्महरु सफल नभइदिएको भए यस्ता फिल्मप्रति दृष्टिकोण फरक हुनसक्थ्यो भन्ने दयाहाङको बुझाइ छ । ‘पहिला भाषाभाषीको फिल्मलाई अर्कै समुदायको भनेर ट्याग दिइन्थ्यो । त्यो आम नेपालीको फिल्म हुँदैन थियो । तर, आज सबै समुदायको कथा आम नेपालीको हुनु भनेको हामीले विविधता र भौगोलिकतालाई स्वीकारेका छौं,’ उनले भने ।

यही शुक्रबार (पुष २६ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा दयाहाङले शेर्पा समुदायको चरित्र निभाएका छन् । यसमा उनी झाँक्रीको भूमिकामा छन् । फिल्ममा उनको जोडी सिर्जना निङलेखुसँग बाँधिएको छ । उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत छन् । यम शेर्पाको निर्देशनमा तयार भएको यो फिल्ममा जितु नेपाल र दीया मास्केको पनि प्रमुख भूमिका छ ।