समर निरौलाको डेब्यु निर्देशकीय फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘म त यसै नक्कली’ बोलको डान्सिङ शैलीको गीतको भिडियोमा फिल्मका दुई मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्केलाई नृत्य गर्दै देख्न सकिन्छ । उनीहरु दुवैलाई कोरियोग्राफर विक्रम स्वारले फरक नृत्य शैलीमा प्रस्तुत गरेका छन् ।
गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत छ । निशाल पौडेलले खिचेको भिडियोलाई फिल्मको कथावस्तुअनुरुप तयार पारिएको छ । प्रियंका र दीयाले नाच्दै गर्दा पृष्ठभूमिमा हड्डीहरु राखिएको एउटा ठूलो रुख देखिन्छ, जसमा रातो अबिरले पूजा गरिएको छ । यसले फिल्मको कथा भूत-प्रेतसँग सम्बन्धित रहेको दर्शाउँछ ।
आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा प्रियंका र दीयासहित सुलक्षण भारती, समीप निरौला, आयुषी ढकाल, घनश्याम जोशी, जेभिस श्रेष्ठ, गीत विष्टलगायतको अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा बनेको फिल्मका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
फिल्मले एउटा घरमा कुकुरको निधन पश्चात् छोरीले कालो विरालो पाल्न थालेपछि श्रृंखलाबद्ध रुपले परिवारमा निम्तिने विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुन थालेको परिवारको कथा पेश गर्छ । समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको फिल्ममा निशाल पौडेल र शरद महतोको छायांकन तथा सुरेन महर्जनको सम्पादन छ । फिल्म हरर जनरामा आधारित भएर बनेको हो ।