नेपालमा सबैभन्दा धेरै हरर जनराका फिल्ममा काम गर्ने अभिनेत्रीमा पर्छिन्, प्रियंका कार्की । ‘माला’ र ‘चि मुसी चि’ उनले गरेका पछिल्ला हरर फिल्म हुन् । उनले हरर सर्ट फिल्म ‘किचकंडी’मा समेत अभिनय गरेकी छन् । यसले पनि हरर फिल्मप्रति उनको रुचि देखाउँछ । तर, दुर्भाग्य ! उनले काम गरेका कुनै हरर फिल्मले न व्यावसायिक सफलता प्राप्त गरे न त दर्शकलाई नै तर्साए ।
त्यसो त प्रियंका आफैं पनि खुसी छैनन् । आफ्ना हरर फिल्मले आफैंलाई तर्साएको उनको अनुभव छ । उनको बुझाइमा प्रायः हरर फिल्मको स्क्रिप्ट राम्रो हुने भए पनि फ्लोरमा गएपछि धेरै कम्प्रमाइज गरिँदा विग्रने गरेको छ । स्क्रिप्टको २० प्रतिशत पनि स्क्रिनमा नआउने उनको भनाइ छ । उनलाई हरर फिल्ममा सबैभन्दा महत्त्वपूर्ण साउन्ड, भिएफएक्स र छायांकन हो भन्ने लाग्छ ।
सोमबार काठमाडौंमा आफ्नो नयाँ हरर फिल्म ‘ममी’को गीत रिलिज कार्यक्रममा उनले भनिन्, ‘हरर फिल्मको स्क्रिप्ट जति पढ्दा र सुन्दा उत्साहित भइन्छ, त्यति हेर्दा भएन भने हामी तर्सिँदैनौं । हरर फिल्ममा सबैभन्दा महत्त्वपूर्ण भनेको साउन्ड, छायांकन र भिएफएक्स हो । भिएफएक्स धेरै खर्चिलो हुन्छ । सोचेअनुरुप भिएफएक्स गर्न सक्दैनौं । तर, हरर फिल्ममा साउन्ड जुन किसिमको चाहिन्छ, त्यो एकदमै फिक्का भइरहेको हुन्छ ।’
प्रियंका आफ्ना हरर फिल्मले दर्शक नतर्साउँदा आफ्नो प्रतिष्ठा नै खराब भइरहेको तर्क गर्छिन् । उनी भन्छिन्, ‘मैले धेरै हरर फिल्म गरिसकेको छु । अप्रोच गर्दाखेरि यसरी गर्छौं, नयाँ शैलीमा गर्छौं भन्नुहुन्छ । तर, आफैंले गरेको हरर फिल्म हलमा हेर्दा आफैंलाई डर लाग्दैन । यसैले पनि एउटा तर्सिने फिल्म चाहिँ गर्नुपर्छ भन्ने भइरहेको थियो । किनकि, मेरो प्रतिष्ठा नै खराब हुन लागिसक्यो ।’
उनी ‘ममी’का निर्देशक समर निरौलालाई डराउनुपर्ने दृश्यमा दर्शक नहाँसुन् भनेर छायांकनको बेलादेखि आफूले सजग गराएको बताउँछिन् । ‘मैले निर्देशकलाई साउन्ड र भीएफएक्स राम्रो हुनुपर्छ भनेर भनिरहेको छु । डराउनुपर्ने ठाउँमा नहाँसुन् भनेर सजग गराइराखेको छु । किनकि, धेरै हरर फिल्म गरेकाले मलाई यो चिजको ‘ट्रमा’ छ (हाँस्दै) ।’
हरर फिल्ममा तर्सिने र तर्साउने रोल गरिरहेकी प्रियंकालाई वास्तविक जीवनमा भने भूतसँग डर लाग्दैन रे ! बरु जीवित मान्छेसँग बढी डर लाग्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘मलाई भूतसँग भन्दा रियल मान्छेसँग डर लाग्छ । भूतसँग त एकछिन गफसफ गरेर बसेँ भने साथी बनाउँछु जस्तो लाग्छ (हाँस्दै) । तर, आजकाल जीवित मान्छेको नियत कस्तो हुन्छ भन्ने कुरा नै थाहा हुँदैन ।’