एकपछि अर्को सफल फिल्म दिइरहेका निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’ आगामी फागुन २ गते (भ्यालेनटाइन डे)बाट प्रदर्शनमा आउँदैछ । ‘डिग्री माइला’पछि एकपटक फेरि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएकाले फिल्मलाई लिएर दर्शक उत्साहित छन् । यसैबीच, मंगलबार फिल्मको युट्युबमार्फत् टिजर सार्वजनिक गरिएको छ ।
३ मिनेट १५ सेकेण्ड लामो टिजरले प्रेमलाई केन्द्रविन्दू बनाएर यौन आकर्षण र दुर्बलताको कथा पेश गरेको छ । दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित देखिन्छ । ‘एडल्ट ड्रामा’ उल्लेख गरिएको टिजरमा आँचलले कामुक हाउभाउ प्रस्तुत गरेकी छिन् । यसमा प्रायः संवाद दोहोरो अर्थ लाग्ने छन् ।
फिल्ममा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतको पनि अभिनय छ । निर्देशक लामा स्वयंको लेखन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसअघि उनीहरुबीच फिल्म ‘नाङ्गो गाउँ’मा सहकार्य भएको थियो ।
क्लक वर्क कृएसनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा सुदीप ढकाल छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्ममा चर्चित कवि श्रवण मुकारुङले विभिन्न शीर्षकमा लेखेका दशवटा कविता समावेश गरिएको छ, जुन टिजरमा पनि सुन्न सकिन्छ ।