यतिबेला निकै चर्चामा रहेको गीत हो, ‘मखमली’ । फिल्म ‘ऊनको स्वीटर’मा समावेश यो गीत धेरैको मुख-मुखमा झुण्डिएको छ । यसमा हजारौं टिकटक र रिल्स बनिसकेका छन् भने युट्युबमा भ्यूज मात्र ३७ लाख बढी छ । गीतले राम्रो हाइप लिइरहँदा विदेशमा आक्रामक रुपमा फिल्म पनि बिक्री भइरहेको छ । गीत रिलिजपछि निर्माताले १० भन्दा बढी देशमा फिल्म बिक्री गरिसकेका छन् ।
‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वी देश, माल्टा र मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार खरिद गरेको छ भने दक्षिण कोरिया, क्यानडा, जापान, यूकेबाहेकका यूरोपियन देशहरूमा पनि फिल्म बिक्री भइसकेको निर्देशक नवीन चौहानले जानकारी दिए । यी सबै देशमा नेपालकै मितिमा फिल्म रिलिज हुनेछ ।
आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छा् भने सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, भावना खपाङ्गी मगरलगायतको अभिनय छ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् भने उनलाई लेखनमा सुरज कटुवालले सघाएका छन् ।
फिल्ममा चिन्तन राजभण्डारीको छायांकन तथा कृष्ण भण्डारीको सम्पादन छ । आर्टमाण्डूको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सागर बुढाथोकी र मिलन खत्री हुन् । फिल्मका गीतहरुमा सुजन चापागाईँ, झुमा लिम्बू, सुनिता थेगीम र सलिना बिकको गायन छ । फिल्मको घोषणाताका सार्वजनिक ‘फूल’ गीत पनि निकै चर्चित बनेको छ । युट्युबमा भ्यूज मात्र डेढ करोड बढी छ ।