कलाकार बुद्धि तामाङको निर्माणमा बन्न लागेको फिल्म ‘कुस्ती’मा फेसन डिजाइनिङ सम्बन्धी संस्था इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) भेषभूषा पार्टनरको रुपमा जोडिएको छ । मंगलबार एक समारोहका बीच आईआईएफटीको तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर तथा फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अब ‘कुस्ती’मा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने सम्पूर्ण पहिरनको डिजाइन आईआईएफटीमा आबद्ध २४ जना विद्यार्थीले गर्नेछन् । सम्झौता समारोहमा उपस्थित भएका धीरज र मिरुनाले आफ्नो पहिरनबारे छलफल गर्दै केही पोशाक ट्रायल पनि गरेका थिए । आईआईएफटीसँग जोडिन पाएकोमा उनीहरुले खुसी व्यक्त गरे ।
कार्यक्रममा फिल्मका लेखक समेत रहेका निर्देशक योञ्जनले आईआईएफटीका विद्यार्थीहरूको नवीनतम सोचले फिल्मका पात्रलाई मूर्तरुप दिनेमा आफू विश्वस्त रहेको बताए । आईआईएफटी प्रमुख सन्नी सुब्बाले यो महत्त्वपूर्ण सहकार्यले नयाँ सुरुवात गरेको बताइन् । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोशाक र समग्र फेशनमा बदलाव ल्याउने उनको विश्वास छ ।
बुद्धि तामाङको पनि विशेष भूमिका रहने ‘कुस्ती’ एक जोडीको प्रेमकथामा तयार हुनेछ, जो फरक स्वभावका छन् । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथामा फिल्म बन्ने जनाइएको छ । आउँदो फागुनदेखि छायांकनको तयारी गरिएको फिल्मलाई आउँदो वर्ष अर्थात् २०८२ को भदौमा प्रदर्शन गरिँदैछ । यो फिल्मको निर्माणमा बुद्धि तामाङलाई निर्देशक योञ्जनले सघाउनेछन् ।