३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको पहिलो निर्देशकीय फिचर फिल्म ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ‘सपनीमा’ गीतको सानो अंश समेत समावेश ५ मिनेटभन्दा लामो ट्रेलरले फरक पृष्ठभूमि र भूगोलका दुई पात्रबीचको मित्रता र उनीहरुको सम्बन्धमा आउने उतारचढावको कथालाई रोचक ढंगले पेश गरेको छ ।
फिल्मका शीर्ष अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको डेटिङ एपबाट चिनजान भएपछि भेट हुन्छ । त्यसपछि घनिष्ट बनेका उनीहरुको सम्बन्धमा विस्तारै दरार उत्पन्न हुन थाल्छ । ट्रेलरको अन्तिममा ट्रेनभित्र नाजिरले बन्दुक तेर्साएर सृष्टिलाई अपहरण गर्न खोजेको देखिन्छ । फिल्मले पहाडी र मधेशी समुदायमा मेलमिलापको खोजीको कथा भन्ने ट्रेलरले संकेत गर्छ ।
आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रिना रिमाल, मदन ठाकुर, कौशल्या ठाकुर, रामनारायण ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, मनोज शाहलगायतको पनि अभिनय छ । स्पेसल अपियरेन्समा अमितेष शाह रहेका छन् । यसमा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण छ ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मलिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।