केही वर्षयता वर्षमा धेरै फिल्म रिलिज हुने अभिनेताको कीर्तिमानी दयाहाङ राईको नाममा छ । गत वर्ष मात्र उनका ९ वटा फिल्म रिलिज भए । कति महिनैपिच्छे आए त कति एउटै मितिमा समेत भिड्न पुगेका थिए । यस वर्ष पनि गत वर्षकै हाराहारीमा उनका फिल्म प्रदर्शन हुँदैछन् । तर, यसपटक उनको फिल्म रिलिजमा लामो अन्तर देखिएको छ । त्यो अन्तर झन्डै ६ महिना लामो छ ।
गत असार २८ गते प्रदर्शन भएको ‘घरज्वाइँ’पछि उनका कुनै फिल्म आएनन् । अब ६ महिनापछि शुक्रबारबाट हलमा उनको नयाँ फिल्म लागेको छ । त्यो हो, ‘कार्साङ’ । लामो समयपछि उनको नयाँ फिल्म रिलिज भएकाले दर्शकहरु पनि उत्साहित देखिन्छन् । र, मंसिर महिनायता पूर्ण रुपमा सुस्ताएको बजारलाई फिल्मले चलायमान बनाउने अपेक्षा पनि गरिएको छ ।
देशभरका मल्टीप्लेक्सहरुमा राम्रो सो पाएको फिल्मको बुकिङ भने उत्साहप्रद देखिएको छैन । यद्यपि, प्रायःजसो नेपाली फिल्मको ‘डोरसेल’ राम्रो हुने भएकाले ‘वर्ड अफ माउथ’को आधारमा दिउँसोबाट हलमा दर्शकीय चाप बढ्न सक्ने विश्लेषण गरिएको छ । युट्युबमा टिजर, ट्रेलर र गीतलाई मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा फिल्मलाई दर्शकले राम्रो साथ दिनसक्ने छनक देखिन्छ ।
शेर्पा समुदायको संस्कृति र परम्परामा आधारित भएर बनेको फिल्मले अभाव र दुःखसँग जुधिरहेको एक परिवारले आफ्नो संस्कार जोगाउन गरेको संघर्षको कथा भनेको छ । यसमा दयाहाङ राई शेर्पा समुदायको झाँक्रीको भूमिकामा छन् । उनको श्रीमतीको भूमिकामा सिर्जना निङलेखुले अभिनय गरेकी छन् । यो उनको पहिलो फिल्म हो ।
फिल्ममा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यो उनको निर्देशनमा बनेको पहिलो फिल्म हो । फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मको निर्माता तथा छायाँकारमा पुरुषोत्तम प्रधान रहेका छन् । बुधबार साँझ काठमाडौंमा गरिएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको थियो ।