आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको हरर फिल्म ‘ममी’को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार जारी पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्की चित्रित छिन् । निलो रंगको नाइट ड्रेसमा रहेकी उनी डर मिश्रित भावमा मुठ्ठी कसेर केही हेरिरहेकी छन् । उनको लुगामा सुकेको रगतको टाटा देखिन्छ । र, छेवैमा कालो बिरालो उभिएको छ ।
पोस्टरमा प्रियंका उभिएको पछाडि घरको भित्तामा फोटो फ्रेम पनि छ, जसमा अभिनेता सुलक्षण भारती, बाल कलाकारहरु आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ । फ्रेमको काँच फुटेको छ भने त्यहाँ रगत बगिरहेको छ । यसले घरमा केही अनिष्ट भएको संकेत गर्छ । यो पोस्टरले फिल्मप्रति दर्शकमा कौतुहलता बढाउन सक्छ ।
समर निरौलाको निर्देशनमा बनेको फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतको पनि अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको संयुक्त लेखन छ । फिल्मका निर्माता लोकराज जोशी तथा पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले गरेका हुन् । यसमा सम्पादन सुरेन महर्जनको छ । यसैगरी, पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी र संगीतकारमा एसडी योगी छन् । फिल्मको तीन दिनअघि सार्वजनिक ‘म त यसै नक्कली’ गीतले राम्रो हाइप लिइरहेको छ । युट्युबमा गीतलाई मिलेको प्रतिक्रियाहरु उत्साहजनक देखिन्छ ।