अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘खेल’ आगामी बैशाख १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी सिरुपाते फिल्म्सले प्रदर्शन मिति घोषणा गरेको हो । उक्त मितिमा अर्को फिल्म ‘भूठान’ (द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान) पनि प्रदर्शनमा आउँदैछ । अर्थात् बैशाख १२ गते दुई फिल्मबीच भिडन्त हुने भएको छ ।
‘खेल’को जारी पोस्टरमा सुरक्षालाई केन्द्रमा राखिएको छ, जसले उनको चरित्रको महत्त्वलाई संकेत गर्छ । पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय ताराले फिल्म रहस्य, डर र थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ । पोस्टरमा तीन युवतीहरु पनि चित्रित छन्, जो कलेज ड्रेसमा छन् । यसले कलेज जीवनका किशोरीको कथा फिल्मले भन्ने बुझ्न सकिन्छ ।
बलिउडका दर्जन बढी फिल्ममा सह-निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठको संयुक्त निर्देशन रहेको फिल्ममा हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम, निकिता आचार्य, भोलाराज सापकोटा, मिथिला शर्मा, सरिता गिरी, किरण श्रेष्ठ, सुहानी खड्का, भवन घिमिरे, सुजन घिमिरेलगायतको पनि अभिनय छ ।
निर्देशक प्रधानले फिल्ममा नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्ससँग जोडेर कथा भनिएको बताए । उनका अनुसार आफ्नै विगतको एउटा भयानक घटनाले पछ्याइरहेको चारजना साथीहरुको कथा फिल्मले भन्नेछ । उनी भन्छन्, ‘ती चार पात्रले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ । यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्साउन खोजिएको छ ।’
फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन, निर्माता आशिषराज महर्जन तथा सह-निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन् । फिल्मको कथा आशिषराज महर्जनको हो भने पटकथा लेखनमा उनलाई निर्देशक प्रधान सघाएका छन् । संवाद विष्णु गैरेले लेखेका हुन् । रोशन राई र सञ्जय लामाको छायाङ्कन रहेको फिल्मलाई आशिषराज महर्जनले सम्पादन गरेका छन् ।