तीन सुपरस्टारहरु दयाहाङ राई, सौगात मल्ल र प्रदीप खड्काको पहिलो सहकार्य रहेको फिल्म ‘पिताम्बर’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लम्बाईको टिजर एक्सन प्रधान छ । कथावस्तुबारे टिजरले खुलासा नगरे पनि बदलाको कथामा फिल्म बनेको संकेत भने मिल्छ । टिजर हेर्दा फिल्मको मेकिङ उच्च देखिएको छ ।
तराईको समथर भूभागलाई चित्रित गर्दै सुरु भएको टिजरमा प्रदीपको इन्ट्रीपछि एक्सनलाई प्राथमिकता दिइएको छ । उनको पात्र हिंसात्मक देखिन्छ । उनको एउटा संवाद छ, ‘यहाँ महाभारत हुन्छ ।’ यसबाट उनको पात्रले कसैसँग बदला लिन चाहेको प्रष्ट हुन्छ । दयाहाङ भने इन्स्पेक्टरको भूमिकामा छन् । एक दृश्यमा उनलाई प्रदीपले चुनौती दिइरहेको देखिन्छ ।
टिजरको अन्तिममा हेलिकप्टरबाट सौगातको इन्ट्रीसहित एउटा संवाद छ, ‘अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ।’ यसपछि उनी एक्सनमा उत्रिन्छन् । टिजरमा प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायत पनि चित्रित छन् । ब्याकग्राउन्ड स्कोर सशक्त रहेको टिजरले दर्शकमा फिल्मको पखाई बढाउने निश्चित छ ।
कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्ममा गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ । विशाल चौलागाईं निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । यो फिल्म नयाँ वर्षको छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।