अभिनेता दीलिप रायमाझीकी छोरीको पहिचान बोकेर अमेरिकाबाट अभिनेत्री बन्न नेपाल फर्किएकी दिव्या रायमाझीलाई फिल्ममा भित्रन कुनै संघर्ष गर्नुपरेन । उनलाई लिन मेकरहरुबीच नै हानाथाप चल्यो । उनी अमेरिकामै हुँदा फिल्म ‘बरिष्ठ बलराम’मा काम गर्ने टुंगो लागेको थियो । तर, यो फिल्म निर्माण नभएपछि उनी ‘एक्टर: टेक वान’मा जोडिइन् । यसपछि ‘पिताम्बर’मा काम गरिन् ।
अहिलेसम्म दिव्याले जति फिल्म पाएकी छन्, त्यो उनकै पिताको नामको देन हो । उनको कामको त मुल्यांकन नै भइसकेको छैन । यसैले अब ‘एक्टर’ र ‘पिताम्बर’बाट उनलाई आफ्नै पहिचान बनाउनुपर्ने चुनौती छ । र, उनले के बुझिसकेकी छन् भने पिताको नामका कारण इन्डस्ट्रीमा छिर्न जति सजिलो भयो, अब आफ्नो काम प्रमाणित गर्न त्यति सजिलो छैन ।
सोमबार ‘पिताम्बर’को टिजर रिलिज कार्यक्रममा उनले भनिन्, ‘फिल्म क्षेत्रमा ड्याडीको योगदानले गर्दा मलाई अरुभन्दा इन्डस्ट्रीमा छिर्न अलि सजिलो भयो होला । तर, स्टार किड्सको रुपमा इन्डस्ट्रीमा छिर्न सजिलो भए पनि यहाँ काम प्रमाणित गर्न एकदमै गाह्रो हुने रहेछ । धेरै तुलना पनि गरिन्छ । यसैले सय प्रतिशत मात्र होइन, दुई सय प्रतिशत दिनुपर्ने हुन्छ । त्यो राम्रो पनि हो ।’
‘एक्टर’ र ‘पिताम्बर’ दुवै फिल्ममा दिव्याको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । जसले गर्दा उनीहरुको एकअर्कासँग नाम पनि जोडिन थालेको छ । तर, दिव्या यसलाई प्रदीपसँग आफ्नो केमेस्ट्री रुचाइएको रुपमा लिन्छिन् । र, संसारको जुनसुकै इन्डस्ट्रीमा पनि कलाकारको सम्बन्धलाई लिएर गसिप आउने भएकाले यसलाई आफूले सामान्य रुपमा लिएको उनको भनाइ छ ।