‘पूजार सार्की’को सफलतापछि निर्देशक दिनेश राउत अब नयाँ फिल्म ‘महाभोज’ बनाउँदैछन् । मङ्गलबार माघे सङ्क्रान्तिको दिन पारेर कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको छ । फिल्मका शीर्ष कलाकारहरु दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत लगायतको उपस्थितिमा मन्दिरमा विशेष पूजा गरिएको थियो ।
सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन भने यसै साताबाट तालनगरी पोखरामा सुरु हुनेछ । फिल्मको छायांकन तालिका ४५ दिनको राखिएको छ । बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
निर्देशक राउतले ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथा रहेको बताए । ‘फिल्ममा नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,’ उनले मुहूर्तमा भने, ‘देशमा भइरहेका प्रणालीविहीन कामविरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, तब समाजले कस्तो रूप लिन्छ भन्ने कथा यसमा छ ।’
‘नाङ्गो गाउँ,’ ‘दुःखी आत्मा’ निर्माण गरिसकेका हिमाल कडरिया फिल्मका निर्माता हुन् । कार्यकारी निर्माताहरूमा किरण नेपाली र सुदिप ढकाल रहेका छन् । फिल्ममा ‘प्रकाश’ र ‘पूजार सार्की’का लेखक विकास सुवेदीको लेखन छ भने राजेश श्रेष्ठले छायांकन गर्ने जिम्मेवारी पाएका छन् । सम्पादन भने निमेष श्रेष्ठले गर्नेछन् । ‘महाभोज’लाई आगामी जेठमा रिलिज गर्ने तयारी गरिएको छ ।