अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘डोरी’को आगामी चैत १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार माघे संक्रान्तिको अवसर पारेर निर्माण कम्पनी जी सेभेन प्रोडक्सनले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएको हो ।
टौवा स्टूडियोका विजय बस्यालले डिजाइन गरेको पोस्टरमा फिल्मका मुख्य कलाकार वीरेन्द्र सिंह कुशवाहा चित्रित छन् । उनको अनुहारमा देखिएको रिसको भावले कथाको द्वन्द्व र चरित्रको गहिराइबारे संकेत गर्छ ।
फिल्ममा वीरेन्द्रसहित प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा लगायतको पनि अभिनय छ । फिल्मको निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्मातामा राज थापा छन् ।
‘डोरी’का स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने सौरभ लामाको छायांकन, दिनेश बहादुर रावतको मुख्य सहायक निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन, राजनराज सिवाकोटीको संगीत निर्देशन, रोशन दिवानाको कला निर्देशन, मिलन श्रेष्ठको सम्पादन तथा रेनीश फागोको रङ्ग संयोजन छ । निर्देशक लामाका अनुसार फिल्मले कथावस्तु, अभिनय र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ ।