करिब ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेलको रुपमा निर्माण भएको ‘फेरि रेशम फिलिली’को पहिलो गीतको रुपमा ‘ग्रीन कार्डैमा’ सार्वजनिक गरिएको छ । मंगलबार माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने डेविट शंकरको पार्श्व गायन छ । गीतमार्फत फिल्मको कथा बुझाउन खोजिएको छ ।
फिल्मका मुख्य पात्र विनय श्रेष्ठले अमेरिकाको ग्रीन कार्ड पाएपछि उनलाई विदाई गर्न गाउँ नै ओर्लिन्छ । युवतीहरु उनका लागि हानाथाप गर्छन् । गीतमा नेपालीहरुको अमेरिकी सपनालाई दर्शाइएको छ । र, फिल्मको कथा यसैमा केन्द्रित रहेको प्रष्ट बुझिन्छ । गीतमा विनयसहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, लक्ष्मी गिरी, मेक्सम गौडेल लगायत चित्रित छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्देशक निरोज महर्जन हुन् । रौनक विक्रम कँडेल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सुसन प्रजापतीको छायांकन रहेको फिल्ममा निर्देशक महर्जन र आकाश बरालको पटकथा लेखन छ ।
फिल्ममा विनयको जोडी अभिनेत्री सुपुष्पा भट्टसँग बाँधिएको छ । ‘रेशम फिलिली’मा भने मुख्य अभिनेत्रीको रुपमा मेनुका प्रधान थिइन् । सिक्वेलमा उनी दोहोरिएकी छैनन् । शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, एवनराज उप्रेती लगायतको पनि अभिनय रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । यो फिल्म महाशिवरात्रिको दिन पारेर आगामी फागुन १४ गते प्रदर्शनमा आउँदैछ ।