फागु पूर्णिमा (होली)को अवसर पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को प्रचारात्मक गीतको रुपमा बुधबार युट्युबमार्फत् ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यसमा कीर्तिमानी नेपाली गीत ‘कुटुमा कुटु’ जोडीको पार्श्व गायन छ । अर्थात् राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । गीतमा राजनराज स्वयंको शब्द तथा संगीत छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर नृत्य गर्दै प्रस्तुत छन् । गीतले उनीहरुबीचको प्रेमलाई दर्शाउँछ । भिडियो हेर्दा निकै खर्चिलो देखिन्छ । दर्जनौंको संख्यामा कोरस छन् भने पहिरन र प्रप्समा पनि ठूलै खर्च गरिएको छ । भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित भएर बनेको हो । यसमा एञ्जिला स्वयंले आफ्नो भूमिका निर्वाह गरेकी छन् । निर्माता प्रेम कुमार श्रेष्ठले फिल्मबाट हुने कमाइले एञ्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।
नेपाल प्रदर्शन अगावै यूके र हङकङमा प्रिमियर भइसकेको फिल्ममा दयाहाङ र एञ्जिलासहित सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । फिल्मको सह-निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । फिल्मलाई सुदीप बरालले छायाङ्कन गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठको रहेको छ ।