शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘कार्साङ’को ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्म्सले जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ । यसबाट निर्माताको हातमा बढीमा ५५-६० लाख पर्न सक्छ । ‘स्टारकास्ट’को हिसाबले फिल्मको यो व्यापार अपेक्षित भने होइन ।
‘कार्साङ’ले सुखद् शोका बाबजुद पनि सुरुवाती व्यापार उत्साहजनक गर्न सकेन । मंगलबारबाट भने ‘वर्ड अफ माउथ’ले फिल्ममा दर्शक बढ्न थालेको वितरक कम्पनी आरआर फिल्म्सका रोहित कट्टेलले जानकारी दिए । माघ १ गते अर्थात् माघे संक्रान्तिको दिन देशभर फिल्मले ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको उनको दाबी छ ।
प्रदर्शनको सुरुवाती दुई दिन फिल्मका कलाकारहरु दयाहाङ राई, सिर्जना निङलेखु र जितु नेपालले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । बुधबार निर्देशक यम शेर्पा र अभिनेत्री सिर्जना निङलेखुले लाहुरेको सहर भनिने धरान पुगेर त्यहाँको फ्रेन्ड्स सिनेमाजमा फिल्मको हाउसफुल शोमा उपस्थित दर्शकसँग भेट गर्दै धन्यवाद व्यक्त गरे ।
निर्देशक शेर्पा स्वयंको लेखन रहेको फिल्ममा दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतको पनि अभिनय छ । फिल्मका निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधान हुन् । अभाव र दुःखबीच एउटा झाँक्री परिवारले आफ्नो जातीय संस्कृति जोगाउन गरेको संघर्षमा फिल्म आधारित छ । यसमा दयाहाङ राईले झाँक्रीको भूमिका निभाएका छन् ।