मिति : २०८१ माघ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘दुःखी आत्मा’ : आँचललाई ‘ब्रेकअप कविता’ सुनाउँदै दयाहाङ

फिल्मीखबर, काठमाडौं, 2025/01/16

Dayahang Rai, Aanchal Sharma

 

प्रायः फिल्मको प्रचारात्मक सामाग्रीको रुपमा गीत, टिजर वा ट्रेलर सार्वजनिक गरिन्छ । तर, आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुःखी आत्मा’को निर्माण टिमले भने फरक प्रयोग गर्दै बिहीबार ‘ब्रेकअप कविता’ नाम दिएर एक भिडियो सार्वजनिक गरेको छ, जसमा फिल्मका मुख्य अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई कविता पढेर सुनाइरहेका छन् ।

उक्त कविताले सहमतिमा प्रेम सम्बन्ध टुंग्याएका जोडीको भाव अभिव्यक्त गर्छ । यसबाट दयाहाङको पात्र फिल्ममा कवि रहेको प्रष्ट बुझिन्छ । उनले वाचन गरेको कविता कवि तथा गीतकार श्रवण मुकारुङले लेखेका हुन् । सार्वजनिक भिडियोमा दयाहाङ र आँचलबीचका प्रेमिल दृश्यहरु पनि छन् । केही दृश्यमा भने दयाहाङलाई निराश भावमा देख्न सकिन्छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय छ । सुदीप बराल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

केही दिनअघि सार्वजनिक टिजरले दर्शकमाझ ‘दुःखी आत्मा’को राम्रो हाइप बनाएको छ । यौन आकर्षण र दुर्बलताको कथा पेस गरिएको टिजरमा दयाहाङको पात्र इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकता (सम्भोगको क्रममा उत्तेजना नहुनु) समस्याबाट पीडित देखिन्छ । टिजरमा पनि उनले वाचन गरेको कविताको अंश सुन्न सकिन्छ । ‘दुःखी आत्मा’लाई ‘एडल्ट ड्रामा’ भनिएको छ ।