मंसिर र पुष महिना फिल्म रिलिज र व्यापार दुवै हिसाबले निराशाजनक रह्यो । तर, अब चैतसम्म हरेक हप्ता हलमा नयाँ फिल्म टुट्ने छैनन् । माघको सुरुवात भने फिल्म ‘फिरफिरे फिरिरी’बाट भएको छ । नेपाली फिल्ममा विरलै प्रयोग भएको हरर-कमेडी जनरामा यो फिल्म बनेको हो । चार युवकको जीवनमा एक युवतीको आगमनपछि आउने उतारचढावलाई फिल्मले देखाउनेछ ।
फिल्मले मल्टीप्लेक्सहरुमा निकै न्यून शो पाएको छ । प्रायः हलले १/२ वटा मात्र शो दिएका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएर फिल्ममा दर्शकको चाप बढेको अवस्थामा भने शोमा वृद्धि हुनसक्छ । तर, प्रचारमै चुकेका कारण दर्शकको ठूलो वर्गमा फिल्मको जानकारी नै पुग्न सकेको छैन । न त गीत र ट्रेलरले हाइप बनाए । यसको असर फिल्मको व्यापारमा देखिने निश्चित छ ।
फिल्मका निर्माता तथा कलाकार मनोज कुमार अधिकारीले ‘फिरफिरे फिरिरी’ले दर्शकलाई हँसाउन र तर्साउन सफल हुने विश्वास व्यक्त गरेका छन् । यो फिल्मबाट उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । यसअघि उनले दुई सफल फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ निर्माण गरेका थिए । अब भने निरन्तर फिल्म बनाउने उनको योजना छ ।
नवीन भट्टको निर्देशनमा तयार भएको फिल्ममा मनोजसहित सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी, सूर्यमान लिम्बू लगायतको अभिनय छ । बिन्दबासिनी क्रियसनको प्रस्तुतिमा बनेको फिल्मका सह-निर्माता नितिश पुन हुन् । यसमा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन छ । ‘आज साइकल, भोलि फरारी’ बटमलाइन रहेको फिल्मलाई जितु तामाङले खिचेका हुन् ।