चर्चित पार्श्व गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी ध्रुव गुरूङसँग विवाह गरेकी हुन् । विवाहको तस्वीरमा दुवैलाई आ-आफ्नै जातीय भेषभूषामा देख्न सकिन्छ । यतिबेला काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा विवाह समारोह चलिरहेको छ । विवाहमा दुई पक्षका परिवारसहित मेलिना निकट केही संगीतकर्मीको उपस्थिति रहेको जनाइएको छ ।
मेलिना र ध्रुवले केही दिनअघि किराँत धर्मअनुसार इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टको तस्वीर तथा भिडियो भने बिहीबार मात्र बाहिरिएको थियो । इलाम स्थायी घर भएका ध्रुव ब्रिटिस आर्मी (बेलायती सेना) रहेको जनाइएको छ । मेलिना र ध्रुवले छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
जादुयी स्वरले गायनमा लोभलाग्दो सफलता चुमेकी मेलिनाका दर्जनौं गीत लोकप्रिय छन् । उनले गाएको फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुट सुपारी दाना’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा पर्छ । यसलाई युट्युबमा २१ करोड बढीले हेरेका छन् । यो गीतलाई मेलिनाको गायन करिअरको टर्निङ पोइन्ट मानिन्छ । अहिले उनको पार्श्व गायनमा उच्च माग छ ।
उनको स्वरमा रहेका ‘माया जदौ’, ‘रातो टीका निधारमा’ (रिमेक भर्सन), ‘हुकुम बक्सियोस्’, ‘अजम्बरी लाउला पिरती’, ‘कम्मरमाथि पटुकी’, ‘शिरैमा शिरबन्दी’, ‘एमजी रोडैमा’ जस्ता फिल्मका गीतहरु पनि चर्चित छन् । उनीद्वारा स्वरबद्ध नयाँ गीत ‘डल्ले-डल्ले खुर्सानी’ बुधबार मात्र सार्वजनिक भएको छ, जसले युट्युबमा आकर्षक भ्यूज पाएको छ । यो गीत फिल्म ‘अञ्जिला’मा समावेश छ ।
तस्वीर : टौवा इभेन्ट