हिमाल न्यौपानेको निर्देशनमा फिल्म ‘जनै हराएको बाहुन’ बन्ने भएको छ । शुक्रबार निर्माण कम्पनी पेपरक्लिपले हिमाललाई निर्देशकमा अनुबन्धित गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो । फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्ने जनाइएको छ ।
लामो समयदेखि नेपाली फिल्मको विभिन्न विधामा काम गर्दै आइरहेका निर्देशक न्यौपानेले यो फिल्म आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताएका छन् । उनले यसअघि केही वृत्तचित्र र लघु फिल्म निर्देशन गरिसकेका छन् । ‘जनै हराएको बाहुन’ उनको पहिलो व्यावसायिक फिल्म हो ।
निर्माण कम्पनी पेपरक्लिपका प्रमुख विमल न्यौपानेका अनुसार फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । यो वर्षको अन्त्यसम्म छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मका लागि मुख्य भूमिकामा केही कलाकार तय भइसकेका छन् । तर, नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार, फिल्मको मुख्य भूमिकामा अभिनेता विजय बराल देखिने सम्भावना प्रवल छ ।