सन् २०२४ मा मलयालम इन्डस्ट्रीमा एकसेएक अब्बल फिल्म बने । ‘आट्टम’, ‘प्रेमलु’, ‘ब्रह्मयुगम’, ‘आवेशम’, ‘मन्जुमेल ब्बायज’, ‘द गोट लाइफ’, ‘किष्किन्धा काण्डम’ गत वर्षका व्यावसायिक रुपमा सफल र कथावाचनको हिसाबले उम्दा फिल्म मानिन्छन् । २०२४ को अन्त्यतिर आएको ‘मार्को’लाई पनि ठूलो सफलता मिल्यो । यसलाई मलयालम इन्डस्ट्रीकै सबैभन्दा हिंसक फिल्म भनिएको छ ।
अघिल्ला वर्षको तुलनामा २०२४ मा मलयालम फिल्मको व्यापार केही सुखद रह्यो । तर, चल्नेभन्दा डुब्ने फिल्म नै धेरै भए । जसले गर्दा मलयालम इन्डस्ट्रीले ठूलो घाटा बेहोर्नुपरेको छ । केरला फिल्म प्रोड्यूसर्स एसोसिएशनले हालै जारी गरेको तथ्यांकअनुसार २०२४ मा मलयालम इन्डस्ट्रीलाई ७ सय करोड घाटा र जम्मा ३ सय करोड आम्दानी भएको छ ।
एसोसिएशनका अनुसार, गत वर्ष १९९ वटा फिल्म निर्माण भए । जसमध्ये २६ वटा फिल्म मात्र सफल भए । ती फिल्मको निर्माण लागत १ हजार करोड रहेकोमा त्यसबाट ३ सय करोड मात्र फिर्ता भयो । जसले गर्दा ७ सय करोड डुब्न पुगेको छ । प्रोडक्शनको बढ्दो लागत र कलाकारको बढ्दो पारिश्रमिकका कारण २०२४ मा ठूलो घाटा हुन पुगेको एसोसिएशनको निष्कर्ष छ ।
अघिल्लो वर्ष मलयालम इन्डस्ट्रीलाई सबैभन्दा ठूलो धक्का सुपरस्टार मोहनलालको फिल्म ‘बारोज’ले दिएको थियो । १५० करोडमा बनेको फिल्मले २० करोड पनि कमाएन । बरु ३० करोडमा बनेको ‘मार्को’ले वर्षको अन्त्य सुखद गरायो । गत वर्ष उच्च मुनाफा कमाउने मलयालम फिल्म भने ‘प्रेमलु’ हो । ३ करोडमा बनेको फिल्मले बजेटभन्दा ४५ गुणा बढी (१३६ करोड) कमाएको थियो ।