कुनै बेला करिअरको उत्कर्षमा थिए, आर्यन सिग्देल । लभस्टोरी फिल्ममा निर्विकल्पझैँ बनेका उनलाई ‘नम्बर वान अभिनेता’ समेत भनियो । तर, पछि फिल्म छनोटमा चुक्दा उनको करिअर डामाडोल बन्यो । ८ वर्ष उनका एउटा पनि फिल्म चलेनन् । जसले गर्दा उनी ठूलो संकटमा थिए । गत जेठमा प्रदर्शनमा आएको फिल्म ‘पूजार सार्की’ले संकटमोचन गरेपछि भने उनको दिन फिरेको छ ।
यतिबेला उनलाई फिल्मको अभाव छैन । बरु कुन छान्ने भन्ने अन्योलता सिर्जना भएको छ । लगातार फिल्म सम्झौता गरिरहेकाले उनलाई अब सेड्युल मिलाउन पनि सकस पर्ने देखिन्छ । करिब तीन महिनाअघि फिल्म ‘के घर के डेरा २’ सकाएका उनी केही दिनमा ‘महाभोज’को छायांकनमा जोडिँदैछन् । यसलगत्तै उनले फिल्म ‘माग्ने राजा’मा काम गर्ने भएका छन् ।
शनिबार आर्यनसँग निर्माता मुनाल घिमिरेले फिल्मका लागि कागजी सम्झौता गरेका हुन् । फिल्ममा उनको महत्त्वपूर्ण भूमिका रहने निर्माता घिमिरेले जानकारी दिए । यसअघि मुख्य भूमिकामा हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटी अनुबन्ध भइसकेका छन् । फिल्मको कथा केदारमा केन्द्रित हुनेछ । उनको जोडी वर्षा हुनेछिन् ।
ऋषि लामिछानेको निर्देशनमा बन्न लागेको फिल्ममा मिस पविको रुपमा चिनिएकी पवित्रा साकी, शिशिर बाङ्देल लगायतको पनि अभिनय रहनेछ । सामिप्यराज तिमिल्सनाको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् भने दीपक शर्माको संगीत रहनेछ । कमेडी कथावस्तुमा निर्माण हुन लागेको फिल्ममा केदारले ५० लाख पारिश्रमिक लिएको चर्चा छ ।