यतिखेर देशभर मेला-महोत्सवको सिजन चलेको छ । ७७ जिल्लामध्ये आधाभन्दा बढीमा महोत्सव भइरहेका छन् । यसले गायिका-गायिकादेखि फिल्मका कलाकारलाई भ्याइनभ्याइ बनाएको छ । दर्शकको ठूलो उपस्थिति हुने भएकाले महोत्सवहरु फिल्म प्रचार गर्ने थलो पनि बनिरहेका छन् । यतिबेला पल शाहदेखि प्रदीप खड्कासम्मले महोत्सवबाटै आफ्नो फिल्मको प्रचार गरिरहेका छन् ।
अब अभिनेता सलोन बस्नेत पनि आफ्नो नयाँ फिल्म ‘रंगी’को प्रचार गर्न महोत्सवमा हिँड्न थालेका छन् । फिल्मका लागि ‘छ भने माया’ गीत तयार पारेका गायक दुर्गेश थापाको साथमा उनले हालै बर्दियाको बासगढी महोत्सवमा फिल्मको प्रचार गरे । दुर्गेशले ‘छ भने माया’ गीत गाउँदा सलोन नाचेका थिए । त्यहाँ उनीसँग फोटो खिच्ने दर्शकको भीड पनि उल्लेख्य देखिएको थियो ।
दुर्गेशकको साथमा सलोन अरु पनि केही महोत्सवमा सहभागी हुने तयारीमा छन् । यसले फिल्मको प्रचारमा ठूलो मद्दत पुग्ने उनको विश्वास छ । उनी भन्छन्, ‘म धेरैपछि महोत्सवमा पुगेको हुँ । दर्शकले फिल्मप्रति जुन उत्साह देखाउनुभयो, त्यसले मलाई नै जोस भरेको छ ।’ ‘रंगी’ उनको निर्माणमा बनेको पहिलो फिल्म हो । यसैले पनि उनी प्रचारमा गम्भीर देखिएका छन् ।
सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशनमा बनेको फिल्ममा सलोनसहित दीलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारी लगायतको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन तथा बन्दे प्रसादको सम्पादन छ । यो फिल्म आगामी फागुन २ गतेबाट प्रदर्शन हुँदैछ ।