२०७४ सालमा प्रदर्शित सफल फिल्म ‘मंगलम’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । आइतबार निर्देशक नवल नेपालले निर्माता छविराज ओझासँग लिखित सम्झौता भएको दुईवटा तस्वीर आफ्नो फेसबुकमा सेअर गर्दै ‘मंगलम २’ बन्न लागेको जानकारी गराए । ‘मंगलम’लाई पनि नवलले नै निर्देशन गरेका थिए । फिल्मको निर्माण छविराजले गुण सिनेमाका दिजेन्द्र शाक्यसँग मिलेर गर्नेछन् ।
निर्देशक नेपालले फरक कलाकार र फरक कथामा फिल्म बन्ने जानकारी दिए । उनले भने, ‘हामीले ‘मंगलम’कै छनक आउने गरी कथा तयार पारेका छौं । तर, विल्कलै नयाँ कलाकार हुनेछन् । भन्नुको मतलब ‘मंगलम’का कलाकारहरु दोहोरिने छैनन् । र, कथा पनि अलग छ ।’ उनले अहिले स्क्रिप्टको पहिलो ‘ड्राफ्ट’ तयार भएको र त्यसलाई लयमा ल्याउन केही दिन लाग्ने बताए ।
निर्देशक नेपालका अनुसार फिल्म सामाजिक कथावस्तुमा तयार हुनेछ । स्क्रिप्ट फाइनल भएपछि कलाकार छनोट गरिने उनको भनाइ छ । फिल्मको छायांकन आगामी बैशाखबाट सुरु गर्ने लक्ष्य राखिएको छ । बुझिए अनुसार फिल्मलाई आगामी दशैंमा रिलिज गर्ने तयारीमा निर्माता ओझा छन् । उनले ‘मंगलम’पछि फिल्म नै निर्माण गरेका थिएनन् ।
नेपालमा इच्छा-मृत्यु रोज्न पाउने कानुन बन्नुपर्ने आशयको कथावस्तुमा बनेको ‘मंगलम’मा अभिनेता पुष्प खड्का र अभिनेत्री शिल्पा पोखरेल मुख्य भूमिकामा थिए । नीर शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाईंको पनि अभिनय रहेको फिल्ममा साम्राज्ञी आरएल शाह गेस्ट अपियरेन्समा देखिएकी थिइन् । ‘मंगलम २’मा भने अघिल्लो श्रृंखलाका कुनै कलाकार नदोहोर्याउने पक्षमा निर्माण टिम छ ।