नेपालमा फिल्मको व्यापारभन्दा कलाकारको पारिश्रमिक ज्यादा बढिरहेको हुन्छ । कुनै बेला फिल्म बन्ने बजेट अहिले एउटा चलेको कलाकारलाई पारिश्रमिक पनि नपुग्ने अवस्था छ । हुँदाहुँदा म्यूजिक भिडियो र टेलिसिरियलका कलाकार पनि फिल्ममा सुनबराबर भएका छन् । सागर लम्साल ‘बले’ यसको उदाहरण हुन् । हालै उनले एक फिल्ममा बुझेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।
सागरले शुक्रबार राजु गिरीको निर्देशनमा बन्न लागेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ सम्झौता गरेका थिए । उक्त फिल्म उनले ३५ लाख पारिश्रमिकमा सम्झौता गरेको बताइन्छ । यसको पृष्टि निर्देशक गिरी स्वयंले गरेका छन् । उनी फेसबुकमा लेख्छन्, ‘मैले सागरजीलाई ३५ लाख तिरेँ त के भयो ?’ उनले सागरलाई अबको ‘स्टार’ देखेर उक्त पारिश्रमिक तिरेका हुन् रे !
नेपालको हकमा कलाकारलाई ३५ लाख पारिश्रमिक उल्लेख्य हो । त्यसो त ५० लाख पारिश्रमिक लिने कलाकार पनि छन् । तर, सागर फिल्ममा चलेका कलाकार होइनन् । हास्य सिरियल ‘सक्किगोनि’मा जानुअघि उनले केही फिल्ममा काम गरे पनि करिअर सुखद थिएन । सिरियलको ‘बले’ चरित्रले भने उनलाई लोकप्रियता दिलायो । र, यसपछि म्यूजिक भिडियोमा चम्किए ।
अब फिल्ममा ‘महंगा नायक’ बनेका सागरले बक्स अफिसमा आफूलाई प्रमाणित गर्नुपर्नेछ । त्यो हुँदा उनले ३५ लाख पारिश्रमिक लिएको पनि सार्थक हुनेछ । नभए त्यही पारिश्रमिक उनको खिसिटिउरी गर्ने विषय बन्नेछ । यसअर्थ ‘डल्लेले इन्ट्री मार्यो’ उनका लागि अवसर र चुनौती दुवै हो । यसअघि सहायक भूमिकामा देखिएका उनी यसमा भने पहिलो पटक हिरो भएर प्रस्तुत हुँदैछन् ।