अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ यही शुक्रबार (माघ ११ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । ३२ वर्षअघिको चर्चित डकु-ड्रामा ‘उजेली’ बनाएका दीपेन्द्र गौचनको निर्देशनमा तयार भएकाले फिल्मप्रति दर्शकमा चासो र अपेक्षा बढिरहँदा देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्समा अग्रिम बुकिङ खुलाइएको छ ।
क्यूएफएक्सले १६ वटा हलमा फिल्मलाई ६० शो बाँडेको छ । जसमध्ये काठमाडौं उपत्यकामा २५ र उपत्यकाबाहिर ३५ शो छ । एउटै मल्टीप्लेक्स चेनमा फिल्मले पाएको यो शो संख्या उत्साहजनक हो । अघिल्ला साताको फिल्म नचल्नु र सोलो रिलिज हुन लागेकाले फिल्मले राम्रो शो पाएको देखिन्छ । अब प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ ।
क्यूएफएक्स चेनबाहेकका मल्टीप्लेक्समा भने फिल्मको बुकिङ खुल्न बाँकी छ । मंगलबार साँझसम्म देशभरका सबै मल्टीप्लेक्समा बुकिङ खुलिसक्ने वितरकले जनाएका छन् । क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन फिल्मका कार्यकारी निर्माता भएकाले पनि यो चेनमा सबैभन्दा चाँडो बुकिङ खुलाइएको हो । तर, फिल्मको बुकिङ अपेक्षित देखिएको छैन ।
पहाडी र मधेशी समुदायमा मेलमिलापको खोजीको कथामा बनेको फिल्ममा नाजिर र सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, ओमप्रकाश कर्ण लगायतको अभिनय छ । अमितेष शाहको ‘गेस्ट अपियरेन्स’ रहेको फिल्ममा निर्देशक गौचन स्वयंको लेखन तथा निर्माण छ ।