यस वर्ष अभिनेता प्रदीप खड्काको फिल्म रिलिजको संख्या तीनवटा पुग्दैछ । उनको करिअरमै यो पहिलो पटक हुन लागेको हो । गत जेठमा उनी अभिनीत फिल्म ‘पूजार सार्की’ प्रदर्शन भइसकेको छ । अब यही माघ १६ गते ‘एक्टर : टेक वान’ र चैत २९ गते ‘पिताम्बर’ रिलिजको तयारीमा छन् । यी दुई फिल्म पनि व्यावसायिक रुपमा सफल भए उनले एकै वर्षमा हिटमा ह्याट्रिक गर्नेछन् ।
यतिबेला प्रदीपको सम्पूर्ण ध्यान ‘एक्टर’मा केन्द्रित छ । किनकि, रिलिजको हिसाबले यही अगाडि छ । फिल्मको प्रचारका लागि महोत्सवमा समेत दौडधुप गरिरहेका उनलाई गत शुक्रबार सार्वजनिक ट्रेलरमा लोभलाग्दो प्रशंसा मिलेको छ । युट्युबमा प्रतिक्रिया जनाउने प्रायःले उनकै तारिफमा शब्द खर्चिएका छन् । केहीले ‘अभिनयको अलराउन्डर’को ट्याग समेत दिएका छन् ।
१९ लाख हाराहारी भ्यूज पाइसकेको ट्रेलरले फिल्मप्रति आशा जगाएको प्रतिक्रिया पनि धेरै देखिन्छन् । सिनेमाटोग्राफीको तारिफ उतिक्कै भइरहेको छ । समग्रमा ट्रेलरलाई प्राप्त प्रतिक्रिया उत्कृष्ट छ । यतिबेला नेपालमा युट्युबको मुभी सेक्सनतर्फ दोस्रो नम्बर ट्रेन्डिङमा रहेको ट्रेलरले फिल्मप्रति दर्शकमा चासो र उत्सुकता बढाउन ठूलो भूमिका खेलेको छ ।
राजन भुसालको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेम र कठिन सङ्घर्षको कथा पेस गरेको छ । प्रदीपको बाटोमा राजबल्लभ कोइराला बाधक बनेका छन् । उनको ‘ग्रे’ चरित्र छ । ट्रेलरको ‘हाइलाइट’ पक्ष निश्चल बस्नेत इन्ट्री पनि हो । तर, उनको भूमिकालाई सस्पेन्स राखिएको छ ।
थमनकुमार भण्डारीको निर्माण रहेको फिल्ममा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतको पनि अभिनय छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की तथा सह-निर्माता अनीश भुसाल छन् । यसमा छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।