कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’मा कलाकारको लाइनअप बलियो बनेको छ । केही दिनअघि थिम पोस्टरमार्फत् निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह र प्रवीण खतिवडा मुख्य भूमिकामा निश्चित भएका छन् । यी चारैजना कलाकारसँग निर्माताले यसै साता लिखित सम्झौता गरेका हुन् ।
थिम पोस्टरमार्फत् ‘कोशेढुंगा’ महिलाप्रधान फिल्म हुने संकेत गरिएको थियो । बुझिएअनुसार सुरक्षाले फिल्मको कथा लिड गर्नेछन् । आगामी फागुन २ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्मलाई २०८२ मा रिलिज गर्ने लक्ष्य राखिएको छ । प्रेविल कँडेल र हरि महतको निर्माण रहने फिल्मको कार्यकारी निर्मातामा दिनेश खड्का छन् ।
‘कोशेढुंगा’ सामाजिक कथावस्तुमा बन्नेछ । बाबु श्रेष्ठको डीओपी रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । यसमा रिदम कँडेल र आषिश अविरलको संगीत रहनेछ । कास्टिङ डिरेक्टरमा सुवलमणि सापकोटा छन् । नरदेवी फिल्मसको प्रस्तुति रहने यो फिल्म निर्माण नहुँदै प्रतिक पौडेल र रमेश ढकालको ‘सेभेन सिज इन्टरनेसनल’ले अन्तर्राष्ट्रिय वितरण अधिकार किनिसकेका छ ।