फिल्म ‘दुःखी आत्मा’को दुई हप्ता अगाडि सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्माको एक शारीरिक अंगको प्रशंसामा बोलेको ‘सिन्धुलीको जुनारजस्तो’ संवाद चर्चित बनेको छ । ट्रोल पनि उत्तिकै भइरहेको छ । उक्त संवादले चर्चा पाइरहँदा यसै साता छायांकन भएको फिल्मको एक गीतमा निर्माण टिमले प्रप्सको रुपमा जुनार र सुन्तलाको प्रयोग गरेको छ ।
भक्तपुर दरबार स्क्वायर परिसरमा ‘जुनी जुनीलाई’ गीत खिच्ने क्रममा बाँसको चोयाबाट तयार पारिएको केही थान डोकोमा जुनार र सुन्तला राखिएको थियो । र, त्यसको बीचमा दयाहाङ र आँचललाई रोमान्टिक अवतारमा प्रस्तुत गरेर गीत खिचिएको थियो । रामजी लामिछानेको कोरियोग्राफी रहेको उक्त गीतको भिडियो केही दिनमा सार्वजनिक गरिने जनाइएको छ ।
टिजर र गत साता सार्वजनिक ‘ब्रेकअप कविता’का कारण चर्चामा रहेको ‘दुःखी आत्मा’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसअघि उनले ‘दुई नम्बरी’, ‘छ माया छपक्कै’ जस्ता सफल फिल्म निर्देशन गरिसकेका छन् । उनी स्वयंको लेखन रहेको फिल्मलाई ‘दुई नम्बरी’का निर्माता हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा आलोक शुक्लाको छायांकन रहेको छ ।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । यसमा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय छ । यौन स्वास्थ्य (नपुंसकता)को विषयवस्तुमा बनेको फिल्मलाई ‘एडल्ट ड्रामा’ भनिएको छ । यो फिल्म भ्यालेनटाइन डेको दिन पारेर आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।