मिति : २०८१ माघ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

खगेन्द्रको सट लिँदै सुरु भयो ‘महाभोज’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2025/01/21

MAHABHOJ SHOOT START 1

 

‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सुरु गरेका छन् । गत माघ १ गते काठमाडौंमा मुहूर्त गरिएको फिल्मको मंगलबारदेखि पोखराको घाचोकमा दृश्य खिच्न थालिएको हो । अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले फिल्मका लागि पहिलो सट दिएका थिए । ४५ दिनको तालिकामा सम्पूर्ण छायांकन पोखरा आसपासमा हुनेछ ।

हिमाल कडरिया निर्माता रहेको फिल्ममा खगेन्द्र र मोहनसहित आर्यन सिग्देल, दयाहाङ राई, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने लगायतको अभिनय रहनेछ । फिल्मको कथा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्ध रहेको जनाइएको छ ।

‘महाभोज’को कथावस्तुबारे निर्देशक राउतले भनेका छन्, ‘फिल्ममार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछौं । र, देशका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने फिल्मले देखाउनेछ ।’ निर्देशनको हिसाबले यो उनको आठौं फिल्म हो ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माणमा सहकार्य गरेको फिल्ममा विकास सुवेदीको लेखन छ । यसअघि उनले ‘प्रकाश’ र ‘पूजार सार्की’को स्क्रिप्ट लेखेका थिए । राजेश श्रेष्ठले छायांकनको जिम्मेवारी सम्हालेको फिल्मको कार्यकारी निर्माताहरूमा किरण नेपाली र सुदिप ढकाल रहेका छन् । निमेष श्रेष्ठको सम्पादन रहने फिल्मलाई आगामी वर्षको जेठमा रिलिज लक्ष्य राखिएको छ ।