मिति : २०८१ माघ ९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उजेली २’ बनाउने योजनामा दीपेन्द्र

फिल्मीखबर, काठमाडौं, 2025/01/22

dipendra gauchan

 

नेपाली फिल्म क्षेत्रको ‘क्लासिक’ डकुड्रामा मानिन्छ, ‘उजेली’ । ३२ वर्षअघि प्रशारणमा आएको एक घन्टा लम्बाईको यो डकुड्रामा नहेर्ने सायदै नेपाली होलान् । अहिले पनि यसका दृश्य र संवाद उतिक्कै जीवन्त लाग्छन् । तत्कालीन समयमा संसारभरका २६ टेलिभिजन स्टेसनमा देखाइएको ‘उजेली’का केही क्लिप्स करिब ७ वर्ष अगाडि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

तर, धेरैलाई ‘उजेली’का निर्देशकको बारेमा भने थाहा नहुन सक्छ । दीपेन्द्र गौचनले यसको निर्देशन गरेका थिए । चर्चित कार्टुन ‘मुमिन’लाई नेपाली भाषामा डब गर्ने पनि उनै हुन् । उनले कुष्ठरोगसम्बन्धी बनाएको चेतनामुलक डकुड्रामा ‘ओख्हो’ पनि चर्चित मानिन्छ । उनै दीपेन्द्रले पहिलो पटक फिचर फिल्म निर्देशन गरेका छन्, ‘मिसिङः केटी हराएको सूचना’ ।

लामो समय कम्बोडिया बसेर फिल्म बनाउने योजनासहित २२ वर्षपछि नेपाल आएका दीपेन्द्रलाई धेरैले ‘उजेली २’ शीर्षकमा फिल्म बनाउन सुझाव दिएका थिए । तर, उनलाई फरक कथा भन्ने हुटहुटी थियो । यसैले जन्मियो, ‘केटी हराएको सूचना’ । यसमा उनले मधेशी युवक र पहाडी युवतीको कथा भनेका छन् । उनी ‘उजेली २’ शीर्षकमा पनि फिल्म बनाउने योजनामा भने छन् ।

मंगलबार पत्रकार भेटघाटमा दीपेन्द्रले भने, ‘मलाई धेरैले गाउँको परिवेशमा ‘उजेली २’ बनाउन सुझाव दिएका थिए । तर, गाउँको परिवेशमा धेरै फिल्म बनेको देखेपछि त्यसलाई किन दोहोर्‍याउने भनेर केही नयाँ प्रयास गर्न यो फिल्म बनाएँ । म ‘उजेली २’ पनि बनाउँछु । तर, त्यो अलि पछि बनाउँछु । अहिले म केही नौलो र अनौठो चिज बनाउन चाहन्छु ।’

दीपेन्द्रलाई ‘उजेली’बाट बनाएको साख ‘केटी हराएको सूचना’बाट जोगाउनुपर्ने ठूलो चुनौती छ । यो उनले पनि महसुस गरेका छन् । भन्छन्, ‘कुनै पनि व्यक्तिलाई एउटा चिजमा ठूलो सफलता मिल्यो भने ऊप्रति एकदमै धेरै अपेक्षा बढ्छ । यसैले त्यो अपेक्षा पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने चाहिँ लागेको छ । यद्यपि, मैले के गर्न खोजेको हुँ भन्नेमा स्पष्ट छु । यसैले त्यति डर पनि लागेको छैन ।’

दीपेन्द्रले कम्बोडियामा हुँदा नयाँ कन्सेप्टमा एउटा सर्ट फिल्म बनाएका थिए । त्यसले थुप्रै अवार्ड जित्यो । उनले त्यही कथामा ‘केटी हराएको सूचना’ बनाएका हुन् । ‘यहाँ आउँदा त्यही कथा नेपाली परिवेशमा सुहाउँदो हुने पाएँ । मधेस र पहाडको कथा देखाउँदा राम्रो हुन्छ भन्ने भएपछि कथा लेखेँ,’ उनी भन्छन् । उनलाई स्क्रिप्ट फाइनल गर्न झन्डै तीन महिना लागेको थियो ।

दीपेन्द्र ‘केटी हराएको सूचना’लाई महिला केन्द्रित फिल्म मान्छन् । उनलाई लाग्छ, फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैनन् । ‘नाजिर हुसेन र सृष्टि श्रेष्ठ दुवैको भूमिका बराबरी छ ।बराबरी हुनु भनेको महिलालाई प्राथमिकता दिनु हो । महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नु हुँदैन भन्ने लाग्छ । म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु,’ उनी भन्छन् ।

 

तस्वीर : सुरेन्द्र थापा (स्माइल)