अनिल योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म ‘कुस्ती’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । मुख्य भूमिकामा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर निश्चित भइसकेको अवस्थामा भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको पनि फिल्ममा प्रवेश भएको छ । यसै साता फिल्म सम्झौता गरेर उनले कार्यशाला पनि ज्वाइन गरिसकेकी छन् ।
फिल्ममा दिकिलाको भूमिका महत्वपूर्ण हुने निर्देशक योञ्जनले बताए । उनले भने, ‘हामीलाई एउटा फ्रेस अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गर्यौं । उहाँलाई पनि चरित्र मनपर्यो र सम्झौता गरेर अहिले वर्कसपमा हुनुहुन्छ ।’ फिल्मको पात्रका लागि दिकिलाको ‘स्क्रिन टेस्ट’ गरेपछि उनलाई छनोट गरिएको निर्देशक योञ्जनले बताए ।
दिकिला फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । भन्छिन्, ‘यो मेरो पहिलो फिल्म भएकाले पनि उत्साहित छु । सुहाउँदो चरित्र, सिनियर कलाकार, भद्र र सालिन टिमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो । चरित्रलाई न्याय गर्न म सक्दो मिहिनेत गर्नेछु ।’ उनले यसअघि फिल्म ‘माइतीघर’ पनि सम्झौता गरिसकेकी छन् । तर, सुरुमा उनले ‘कुस्ती’ गर्नेछिन् ।
आगामी फागुनबाट छायांकन सुरु हुन लागेको फिल्मले एकअर्कालाई अगाध माया गर्ने तथा अलग स्वभावका कारण एकसाथ बस्न पनि नसक्ने एउटा जोडीको प्रेमकथा भन्नेछ । बुद्धि तामाङको निर्माण रहने फिल्म अर्को वर्ष अर्थात् २०८२ को भदौमा रिलिज हुने जनाइएको छ । बुद्धिले पहिलोपटक फिल्म निर्माण गर्न लागेका हुन् । यसमा उनको पनि विशेष भूमिका रहने जानकारी प्राप्त छ ।